फुटबल क्लबले पनि जीवन जिउने कला सिकाउन सक्छ। आखिर फुटबल क्लबको पनि त जीवन हुन्छ। मानिसका जीवनका अवयबहरू फुटबल खेल जस्तै हुन्छन्। त्यसै कारणले त लाखौं, करौडौं खेलाडीहरू छन्। अरबौं मानिसहरू खेलाडी बन्न चाहन्छन्।
मलाई पनि सिकाएको छ।
केबल फ्यान भएर मात्र मैले म्यानचेस्टर सिटीबाट धेरै कुरा सिकेको छु।
क्लब पहिला सानो थियो। सानो, बबुरोलाई समाजले दाया गर्छ, माया देखाउँछ। सिटी फ्यानहरूको जस्तोसुकै विषम परिस्थितिमा पनि हाँस्न सक्ने कलाको प्रसंशा गरिन्थ्यो। कताकता हामी नेपालीहरू पनि त्यस्तै नै त छौ।
तपाई सानो हुनुस् संस्थापन वर्गका लागि चुनौती हुँदैन। तपाई उनीहरूले भनेको काम गरिदिनुहुन्छ। तपाईका समस्याहरूले उनीहरूलाई पिरोल्दैन। ठूलाहरूलाई त यसै भइआएकै छ। उनीहरू उसै गरेर आफ्नो दबदबा सधैं चाहन्छन्।
समस्या त तब आउँछ जब सानो ‘म ठूलो बन्छु’ भन्दै आफ्नो दाबी लिएर आउँछ। तब शक्तिको हालिमुहाली गर्नेहरू डराउँछन्।
तपाई उनीहरूमाझ चुनौती हुनुहुन्छ। तपाई माया गरिनेबाट घृणा, इर्ष्या गरिनेमा परिवर्तन हुनुहुन्छ। हाम्रो नेपाली वर्ग जातभातको इतिहास हेरौ। काला जातीहरूको इतिहास हेरौ। म्यानचेस्टरसिटीको पनि त्यस्तै भयो।
तिनै ताका सिटी मलाई मन पर्ने भएको थियो। किनकिन सिटीमा म आफू पाउँथे। सजिव या निर्जीव वस्तुमा कसैको मोह माया तब मात्र हुन्छ जब उक्त बस्तुमा आफू भेटाइन्छ, आफ्नो अंश भेटाइन्छ। सिटीमा मैले मेरो दर्शन भेटाए।
सिटीको प्रष्ट योजना थियो- तीन चार बर्षमा उत्कृष्ट चार क्लबमा पर्ने। थाइल्यान्डका थाकसिन सिनावात्राले क्लब किनेका थिए। क्लबमा शुन जिहाइ नाम गरेका चाइनिज खेलाडी थिए। युरोपको म्लबमा खेलिरहेका तीनै एसिएन खेलाडीमा मैले आफ्नो अंश भेटाएको थिए।
सिटीको विकासको प्रादुर्भाव त्यो भन्दा अघिनै भइसकेको रहेछ। आफू ठूलो हुने महत्वकांक्षा सिटीले २००२ मै सुरू गरेको रहेछ। रंगशालाको क्षमता बढाउन सिटी मेन रोडबाट सरेर हालको ठूलो रंगशालामा आएको थियो। आफू सकेको ठूलो बनेर, लगानी गर्ने उपयुक्त वातावरण बनाइदिएर कतैबाट ठूलो लगानी भित्राउने सोच रहेछ। कालान्तरमा यो निर्णय सिटीको इतिहासको उत्कृष्ट निर्णयहरूमा एक बन्न गयो।
आफू ठूलो हुने सफल हुने सपना जसले पनि देख्न पर्छ। आफू लगानी गर्न सकिन्न भने अरूहरूको लगानी ल्याउने वातावरण बनाउन पर्छ। खाडी देशहरूको उन्नती पनि यसरि नै त भएको हो। आफूमा भएका प्राकृतिक स्रोतलाई कतार जस्ता मुलुकहरूले विदेशी लगानी भित्राएर प्रयोग गरे। आफू पनि धनी भए अरूहरूलाई पनि धनी बनाइदिए। हामीले पनि नेपाललाई लगानी गर्न योग्य मुलुक भनेर चिनाउन नसकेको त हो।
सिनावात्राको सम्पत्ती भ्रष्टाचारका कारणले फ्रिज भएपछि थप लगानी गर्न सकेनन्। तर उनले उदार मनले क्लब बेचिदिएर क्लबलाइ सहयोग गरिदिए। तेस्रो ठूलो योगदान उनले तब गरे जब उनले संसार भरकै धनी मध्येका एक अबुधाबीका युवराजलाई क्लब बेचिदिएर गरे। तब पासा पल्टीयो। क्लबले भोलिपल्ट देखि नै ठूला ठूला खेलाडीहरू भित्राउने होडमा लाग्नथाल्यो।
मानिसले पैसा कमाउने लक्ष्य भेटाइसके पछि अर्को क्षितिज खोज्दै हिड्छ। उसमा शक्तिको लालशा विकशीत हुन्छ। नामको लालशा उत्पत्ति हुन्छ। क्यापिटलिस्ट जमानामा मानिसका महत्वकांक्षाका क्षितिज सधैं बढि रहन्छन्। अबुधावीका राजकुमारहरूमा राजनीतिले दिएको शक्ति त थिदै थियो, केवल नामको कमी मात्र थियो। संसारभर नाम फैलाउने उर्वर भूमी यूवराजलाई सिटीले दियो। फेरि युवा युवराजका खेलका शोखहरू पनि त थिए।
करोडपति सिटीलाई अरबको लट्रि लागेको जस्तो भयो। रातारात धनी भएको सिटीका दुश्मनहरू निक्लन थाले। संस्थापन वर्गका मिडियाहरू खनिए। सानो क्लब सानो सोच, इतिहास र समर्थकहरू नभएको क्लब, अर्काको पैसा प्रयोग गरेर फुटबललाई धोका दिएको, नियमलाइ तोडमोड गरेको, धनाढ्यको कठपुतली भनेर आरोप लगाउन लागे।
ठूला क्लबका राम्रा राम्रा खेलाडीहरूलाइ धेरै पैसाको प्रलोभन देखाएर तानिदियो। थोरै पैसा पर्ने खेलाडी सिटीसँग नाम जोडिएर महङ्गो हुन लागे।
प्राय: राम्रा खेलाडीहरूको नाम सिटीसँग जोडिन पुग्यो। सुरूसुरूमा संसारका उत्कृष्ट खेलाडीहरू भित्राउन चाह्यो सिटीले। तर उत्कृष्टहरू पैसाका लागि मात्र आउँदा रहेनछन्। पहिला उनीहरूका लागि खेल्ने विश्वासीलो ठूलो मैदान उपलब्ध गराइदिनपर्ने रहेछ। त्यो भनेको नियमित उत्कृष्ट चारको स्थानमा परेर च्याम्पियन्स लिग फुटबल अनि नियमीत ट्रफि जित्ने अवसर रहेछ।
सुरूसुरूका दिनहरूमा केहि ठूला नामहरूले सिटीलाई प्रयोग गरेर आफ्ना क्लबबाट तलबको बृद्धि पनि गराए। सिटीको बदनामी पनि भयो। मिडियामा बढी हल्ला मात्रभयो। सिटी पनि अनुभवको कमीका कारण हरेक ठूला नामसँग जोडिने गर्थ्यो।
फेरि बिचौलियाहरू पनि त खेल्ने गर्छन् त्यहाँ पनि। यो रणनीति छिटै सिकेर सिटीले नयाँ रणनीति ल्यायो। सम्भावना भएका युवा खेलाडीहरू किन्ने। उनीहरु परिपक्क हुन्छन् सँगै मिलेर ट्रफि जित्छन्। भयो पनि त्यस्तै। पैसा मात्र भएर हुदो रहेछ। पैसाको राम्रो सदुपयोग पनि गर्न पर्दो रहेछ। नत्र तारात धनी बनेर पनि केहि समयमा भिकारी भएका मान्छेहरू, क्लबहरू प्रशस्त भेटिन्छन्।
युवा खेलाडीहरूमा प्रतिभा त थियो तर विजेता मानसिकता थिएन। सफलता हासिल गर्न सफलताको चटनी चाखाइदिन पर्छ तब न अरू अरू खानाको भोक सधैँ भइरहन्छ। भयो पनि त्यस्तै, २०१२ को एफए कप जितेर। त्यसपछि त नियमित सफलता लागि नै रह्यो सिटीलाइ।
आजकाल ती युवा खेलाडीहरू बुढा भएर प्रायजसो क्लबका हस्ती बनेर क्लब छोडिसकेका छन्। क्लबको लागि अर्को चुनौती आएको थियो। फेरि अर्को टिम बनाउने। बेलाबेलामा टिममा नयाँ अनुहारको ताजकीपनि चाहिने गर्छ। सायद शिखरमा पुगेपछि शिखरमा रहिरहन नायाँ सोच चाहिन्छ।
नयाँ विचारका लागि नयाँ नयाँ मानिसहरूको मुद्रण भइरहनुपर्छ। हालसम्मकै उत्कृष्ट मध्येका एक प्रशिक्षक पेप ग्वार्डिओला सिटीमा आएदेखि संसारले सिटीलाई हेर्ने नजर फरक भएको छ। सफलताले फ्यानहरू बढाइदिन्छ, सम्मान पनि दिन्छ।
आजकाल खेलाडीहरू पैसाभन्दा नाम र सफलता कमाउन सिटीमा आउँछन्। सफलताको पछिपछि लक्ष्मी माता पनि लुरूलुरू गइहाल्छिन्। आजकाल ठूलाठूला नामहरू जोडिन चाहन्छन्। स्वयम् लिओनल मेसी जोडिइसकेका छन्। अझै आउने सम्भावना अत्याधिक छ। यो क्लबको चढेको उचाइको मानक हो।
आजकाल सिटीका पधाधिकारीहरू भन्छन् यति चाडैं हामी यो स्थानमा आइन्छ भन्ने सोचेका थिएनौ। राम्रो योजना, प्रभावकारी नेतृत्व, उचित स्थानमा उचित व्यक्तित्व, अनि सब भन्दा माथि सफल हुने चाहनाले गर्दा आज सिटी सफल भएको छ।
फेरि कोहि कोहि पुराना फ्यानहरूको सोच अर्कौ छ। उनीहरू सोच्छन् सफलतापछि हामी बिग्रिएका छौं। सस्ता दुई दिने फ्यानहरूका क्लब भएका छौ। पहिलाकै ठिक। उनीहरू बेठीक छैनन्। कतै सुनेका छौ हामीले हाम्रो देशमा पनि यस्ता कुराहरू। साएद पश्चगामी, यथास्तितिवादी भनेर उपनाम भिडाइदिएका छौं।
साना क्लबहरूको लागि बिडम्बना भनौ सिटी आजकाल आफै संस्थापन पक्ष भएको छ। हिजो जेको बिरोध गर्थ्यो आज ऊ उहि भएको छ। सफलताले मान्छेको सोच प्रकट गराइदिन्छ। भलै त्यो टेबलमा उसका खुट्टा तान्नेहरू अझै छन्। तर आफू बलियो जगमा बसेपछि कसैले केहि गर्न सक्दैन। आफू उर्वर बन्न पर्छ। सफल हुने चाहना राख्नपर्छ। आफूले नसके अरूलाई लगानी ल्याउने वातावरण बनाउनपर्छ। तब न अरूसँग आफू पनि सफल बन्न सकिन्छ। सफल नेतृत्वको मानक पनि त यहि हो।