बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेजको निर्णायक गोलमा स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले गेटाफेलाई हराएउँदै शीर्षस्थानमा उक्लिएको छ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा म्याड्रिडले १–० को संघर्षपूर्ण जित निकाल्यो। म्याड्रिडलाई जिताउन सुआरेजले पहिलो हाफको २०औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो।
यान्निक कारास्कोको पासमा उनले सुन्दर गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि दुबै टोलीले गोलका लागि गरेका केही प्रयास खेर गएका थिए।
यो जितसँगै एट्लेटिकोको १४ खेलबाट ३५ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। उसले दुई खेल बढी खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ। दोस्रो स्थानको रियलको १६ खेलबाट ३३ अंक छ।
रियल बुधबार राति नै इल्चेसँग बराबरीमा रोकिएको थियो।