स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एक गोलको अग्रता जोगाउन नसक्दा रियलले घरेलु टोली एल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। यो बराबरीसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक दुरी बराबरी गर्ने अवसरसमेत गुमायो।
रियलले १६ खेलबाट १० जित, समान ३ र ३ हारसहित ३३ अंक जोडेको छ।
इल्चेको घरेलु मैदानमा बुधबार राति खेलको २० औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए।
मार्को एसेन्सियोको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा क्रोएसियन मिडफिल्डर मोड्रिचले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।
पहिलो हाफ १-० ले पछि परको घरेलु टोलीले ५२औं मिनेटमा पेनाल्टी मार्फत चाभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
ड्यानी कार्भाहलले पेनाल्टी बक्समा बारागानलाई तान्दै लडाएपछि रेफ्रीले इल्चेलाई पेनाल्टी प्रदान गरेको थियो।
त्यसपछि गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा दुबैले अंक बाढ्न बाध्य भए।
यो बराबरीसँगै रियल १६ खेलबाट ३३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा एट्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेर शीर्ष स्थानमा छ। रियललाई बराबरीमा रोकेको इल्चे १६ अंक जोडेर १५औं स्थानमा छ।