२०१९ मा मौरिसियो सारीलाई बर्खास्त गरेर चेल्सीले आफ्ना पूर्वखेलाडी फ्रान्क लाम्पार्डलाई मूख्य प्रशिक्षक बनाएको थियो।
चेल्सीका मालिक रोमन अब्रमोभिकले लाम्पार्डले चाहेअनुसारको रकम खेलाडी किन्नमा खर्च गर्न सक्छन् भने पछि त्यो अनुबन्ध पक्का भएको थियो।
गत वर्ष खेलाडी किनबेच प्रकरणमा प्रतिबन्धमा परेको चेल्सीले आफ्ना युवा खेलाडीमै पूर्णरुपमा भर पर्न परेको थियो। युवाहरूले सोचे अनुरुप प्रदर्शन गर्दै चेल्सीलाई च्याम्पियन्स लिगसम्मको यात्रा गराए।
गत समर ट्रान्सफरमा चेल्सीमाथिको खेलाडी किनबेच प्रतिबन्धको निणर्यलाई यथावत राख्न नपर्ने गरी मध्यस्थकर्ताबाट निर्णय भएको थियो।
लगतै चेल्सीले २०० मिलियन पाउन्डभन्दा बढी रकम खर्चेर खेलाडी भित्राएको थियो। यसपाली चेल्सीलाई प्रिमियर लिगको मूख्य दाबेदारको रुपमा हेरिएको थियो। सिजनको सुरुवाती केहि हप्ता भने चेल्सीले लोभ लाग्दो खेल पस्केको थियो। तर पछि सोहि अनुरुप खेलको सफल नतिजालाई निरन्तरता दिन भने सकिरहेको छैन।
अर्बपति अब्रहिमोविकको कार्यकालमा एकपछि अर्को फितलो प्रदर्शन टिमले यसअघि विरलै गर्यो होला। टिमको हालका दिनहरुमा भएको नतिजासँगसँगै लाम्पार्डको भबिष्य समेत संकटमा परेको भनी खेल पण्डितहरूले पूर्वअनुमान गर्न थालिसकेका छन्।
चेल्सीका पूर्वप्रशिक्षक जोसे माउरिन्हो, एन्टोनिओ कन्टे, कार्लो एन्सेलोटी भन्दा लाम्पार्डको प्रदर्शन निकै कमजोर देखिएको छ।
ट्रान्सफर प्रतिबन्धको कारण अघिल्लो वर्ष लाम्पार्डसँग खेलाडी पनि उनले चाहेको जस्तो थिएन। टिमले नयाँ खेलाडीमा लगानी त गर्यो। तर टिमो वेर्नेर , काई हावेर्टज़, बेन चिलवेल, थियागो सिल्भा, हाकिम जि़याच जस्ता एक सय एक नामले टिममा प्रवेश पाउँदा पनि खेल भने खासै सुधारिएको छैन।
लाम्पार्ड आफ्नो खेल जीवनको कार्यकाल भरी नै एक उदाहरण भइरहे, कतिपय फुटबल समर्थक त उनको खेल देखेर मोहित नै हुन्थे। उनलाई लङ्ग रेन्ज प्रहारमा त धुरन्धर नै मानिन्थ्यो।
जति उनको खेलमा उत्कृष्टता देखिन्थ्यो त्यति प्रशिक्षकको भूमिकामा अब सबैले औला उठाउने बेला भएको छ। लाम्पार्ड आफू खेलाडी हुदाँ टिकीटाका तथा सर्ट छोटो पास खेल्न खुब रुचाउथें सोही अनुरुप नै उनी अहिले आफ्नो खेलाडीलाई मैदानमा खेल्न आदेश दिन्छन्। तर प्रशिक्षकको यो सोचाइले सफलता चुम्न भने सकेको छैन।
लाम्पार्डको सुरुवाती ११ खेलाडी छनोटमा पनि प्रश्न उठ्न थालिसकेको छ। एक खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको समयमा उनी अर्को खेलमा उक्त खेलाडीलाई बेञ्चमा कि त दोस्रो स्थानमा खेलाउने गर्छन्। यस्तो गर्दा खेलाडीमा अप्रत्यक्ष रूपमा दबाब आउने गर्छ। धेरै फर्मुला प्रयोग गर्दा खेलाडी र प्रशिक्षकबीच पनि टकराब भइ विश्वासको संकट पर्न सक्छ।
पछिल्लो ८ खेल लाम्पार्डको लागि बिर्सनलायक बनेको थियो। अघिल्लो सिजन चेल्सीले २३ वर्ष यताकै सबैभन्दा बढी गोल खाएको थियो। यस वर्ष केहि राम्रा डिफेन्डर भित्राए पनि त्यस अनुरुपको प्रदर्शन भने आउन सकेको छैन।
आफ्नै खेलाडी छनोटमा लाम्पार्ड केहि अतालिएको तथा डगमगाएको जस्तो देखिन्छ। यस सिजन मात्र चेल्सीका नयाँ स्ट्राइकर टिमो वेर्नेर ४ विभिन्न स्थानबाट खेलिसकेका छन्। उनीबाट सोचे जस्तो प्रदर्शन आउन समय लागि रहेको छ।
लाम्पार्डले उनको असली खेललाई जतिसूकै उजागर गराउन चाहेपनि त्यो यथार्थमा परिणत हुन सकिरहेको छैन। यसैगरी काई हावेर्टज़ जसमाथि निकै आशा गरिएको थियो उनीबाट पनि आशा अनुसार नतिजा निस्कन सकेन। हावेर्टज़ लाई मात्र लाम्पार्डले १० वटा खेलमा ५ विभिन्न स्थानमा राखेर खेलाइ सकेका छन्। कुन खेलाडीलाई कहाँबाट कसरी खेलाउने भन्ने प्रश्नको उत्तर लाम्पार्ड आफै खोज्दै छन्।
रोमन अब्रहिमोविकले लाम्पार्डमाथि राखेको आशा केहि फरक छ, उनी लाम्पार्डलाई सफल खेलाडी जस्तै एक उत्तम प्रशिक्षक बनाउन चाहान्छन। सारा चेल्सी समर्थक पनि यसै कुराको आसमा छन्।
अहिलेको अवस्थालाई हेर्दा लाम्पार्डलाई प्रशिक्षकको रुपमा टिममा रहने भबिष्य खतरामा परेको देखिन्छ। लाम्पार्डले आफूलाई चेल्सीमा टिकाई रहने छन् त भन्ने प्रश्नको उत्तर अबको केहि महिनाभित्रमा लाम्पार्ड आफैले सफल नतिजाबाट दिन सकेनन भने उनलाई टिमले विदा भन्नुबाहेक अर्को विकल्प रहने छैन।