इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले लिभरपुललाई हराएको छ। बुधबार राति भएको खेलमा १-० गोल अन्तरले लिभरपुललाई हराउँदै ब्राइटनले महत्वपूर्ण ३ अंक जोड्यो। ब्राइटनको जितमा स्टिभन एल्जेटले निर्णायक गोल गरे।
पछिल्ला दुई खेलमा सन्तोषजनक नतिजा निकालेको लिभरपुल फेरि खराब अवस्थामा पुगेको छ।
साविक विजेता लिभरपुलका खेलाडीको प्रदर्शन एकनास नहुँदा यसपटक उसले उपाधि रक्षा गर्ने सम्भावना कमजोर बन्दै गएको छ । लिभरपुलको यो चौथो हार हो।
हारपछि लिभरपुल शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग ७ अंकले पछि परेको छ। यसले उसलाई उपाधि होडमा गम्भीर धक्का लागेको छ। गए रातिको नतिजासँगै २२ खेलबाट लिभरपुलले ४० अंक जोडेको छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको ४७ अंक छ। जित निकालेको ब्राइटन भने २४ अंकसहित १५ औँ स्थानमा छ।