विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरेको छ।
फिफाको नियम उल्लंघन गरेको भन्दै तत्कालै लागू हुने गरी पाकिस्तान फुटबल संघलाई निलम्बन गरिएको फिफाले जनाएको छ।
‘सरकारी हस्तक्षेपका कारण फिफा ब्यूरोले चाडको फुटबल संघ एफटीएफएलाई अहिलेबाट लागू हुने गरी निलम्बन गरिएको छ,’ फिफाले विज्ञप्तिमा भनेको छ, ‘तेस्रो पक्षको हस्तक्षेपका कारण फिफा काउन्सिल ब्यूरोले अहिलेबाटै लागू हुनेगरी पाकिस्तान फुटबल फेडेरेसनलाई पनि निलम्बन गरेको छ।’
फिफाडटकमका अनुसार फिफाले दुवै देशका फुटबल संघले फिफाको नियम उल्लंघन गरेको बताएको छ। चाडको फुटबल संघमा सरकारी हस्तक्षेप समाप्त भएपछि र सरकारले फुटबल संघप्रति गरेका नियमहरु खारेज भएपछि फिफा काउन्सिलले निलम्बन फिर्ता लिने बताएको छ।
फिफाको २ सय १० सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान १९९ सयौँ स्थानमा छ ।
सन् २०१५ को मार्चमा यमनसँग विश्वकप छनोट खेलेपछि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत छैन।