रूड भ्यान निस्टलरोय, पाउल गस्कोइनी, थियरी हेनरी, जिनेदिन जिदान, सर्जियो रामोस, रोबर्टो बाजिओ, पिटर स्माइकल। यी फुटबल महारथीलाई सम्झाउँदै फेरि अर्को युरो कप आजदेखि सुरु हुँदैछ।
यसपालीको युरो कप खेल्न केलियन एमबाप्पे, जो फेलिस, फिल फोडेन, फेरन टोरेस तयार भइसकेका छन्। युवा प्रतिभाले यस पटकको युरो कप भरिएको छ। मुख्यत: युरो कपलाई मिनी विश्वकप पनि भन्ने गरिन्छ।
११ देशमा आयोजना हुन गइरहेको प्रतियोगितामा २४ टिम बीच प्रतिस्पर्धा हुन गइरहेको छ।
२४ देशले प्रतिस्पर्धा गर्ने ६ समूहमा विभाजन गरिएको छ। एउटा समूहमा ४ टोली रहेका छन्, ४ मध्ये पहिलो २ टोली सोझै अन्तिम १६ मा पर्नेछन्।
बाँकी ४ देशले प्राप्त अंकको आधारमा उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ को चरणमा प्रवेश पाउने छन्। छ मध्ये दुई टोलीबाट तेस्रो टिम अर्को चरणमा जाने छैनन्।
यसपालीको युरो कपको विषयमा आफूलाई लागेको सानो झल्को प्रस्तुत गर्दैछु। यो मेरो नितान्त नीजि विचार हो।
पोर्चुगल
प्रशिक्षक- फर्नान्डो सान्तोष
कप्तान- क्रिस्टियानो रोनाल्डो
पोर्चुगल युरोको साविक विजेता हो। सन् २०१६को फाइनलमा अन्तिम समयमा फ्रान्सविरुद्ध गोल गर्दै पोर्चुगलले इतिहास रचेको थियो। रमाइलो कुरा के छ भने यो टिम समूह स्टेजमा तेस्रो भएर दोस्रो चरणमा गएको थियो।
रोनाल्डोले पोर्चुगलबाट जितेको त्यो पहिलो ठूलो उपाधि पनि बन्न पुगेको थियो।
यसपटक पोर्चुगल अझै बलियो टोली बनेर आएको छ। कागजमा पोर्चुगल निकै बलियो मानिएको छ। क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भा जस्ता विषेश खेलाडी सहित पोर्चुगल मैदानमा उत्रनेछ।
प्लेयर टु वाच - ब्रुनो फर्नान्डेज
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेज पोर्चुगलको विषेश हतियार हुनेछन्। युनाइटेडमा उनले यस सिजनमा निकै उत्कृष्ट खेल देखाएका थिए।
फर्नान्डेजले म्यानचेस्टर युनाइटेडका लागि यस सिजनमा कुल ५८ खेलमा २८ गोल गरेका थिए।
उनले पोर्चुगलको स्टार खेलाडी रोनाल्डो तथा डिएगो जोटालाइ पास उपलब्ध पनि गराउनेछन्। रोनाल्डोको अनुभभ र यी युवा ब्रुनो फर्नान्डेजको जादुमायी खेलले गति लिएमा पोर्चुगलले लगातार दोस्रो पटक युरोकप जित्नेछ।
फ्रान्स
प्रशिक्षक- डिडियर डेस्चाम्प्स
कप्तान- हुगो लोरिस
प्रवल दाबेदार मानिएको फ्रान्सको यसपटक युरो जित्ने लक्ष्य छ। फ्रान्सले करिम बेन्जिमालाई ६ वर्षपछि बोलाएको छ।
फ्रान्सको टोली स्टार खेलाडीले भरिपूर्ण रहेको छ। पाउल पोग्बा र एनगोलो कान्टेले फ्रान्सको मिडफिल्ड सम्हाल्नेछन्।
यी दुईले मिडफिल्डमा फ्रान्सको लागि खेल सुरु गर्दा एक खेलमा पनि हार सामना गर्नुपरेको छैन।
फ्रान्सको मुख्य हतियार भने किलियान एमबाप्पे नै हुनेछन्। एमबाप्पे यसपटक युरोको गोल्डेन बुट दाबेदार समेत रहेका छन्।
प्लेयर टु वाच - किलियन एमबाप्पे
फ्रान्सले युरोमा सफलता हासिल गर्ने हो भने २३ वर्षीय एमबाप्पे चम्कन जरुरी छ।
उनको खेल्ने शैली अहिलेको पुस्ताको लागि उदाहरणीय भैरहेको छ। उनी यस वर्षको गोल्डेन बुटका प्रबल दाबेदार समेत हुन्।
फ्रान्सको सुरुवाती-११ मा खेल्दा उनी लेफ्ट विन्गरको भूमिकामा उत्रनेगर्छन्। उनी विशेषगरी आफ्नो तिव्र गतीको लागि चिनिने गरेका छन्।
इंग्ल्यान्ड
प्रशिक्षक- ग्यारेथ साउथगेट
कप्तान- ह्यारी केन
इंग्ल्यान्डको टोली कागजमा हेर्दा यस वर्षसबै भन्दा बलियो देखिएको छ। ह्यारी केनको कप्तानीमा उत्रिने इंग्ल्यान्ड ४-३-३ को फर्मेशन सहित मैदानमा उत्रनेगर्छ।
इंग्लिस टिमको मिडफिल्ड उत्कृष्ट खेलाडीले भरिएको छ। राइस, हेन्डर्सन, माउन्ट, फिलिप्प्स, बेल्लिग्न्हम, ग्रेअलिस जस्ता उत्कृष्ट मिडफिल्डर इंग्ल्यान्डको टिममा छन्।
तर इंग्लिस प्रशिक्षकको आलोचना हुन भने अझै रोकिएको छैन।
इंग्लिस समर्थकहरुले साउथगेटलाई कुशल प्रशिक्षक ठानेका छैनन। यिनको खेलाडी चयन, मौकामा हुनपर्ने निर्णयहरु चिप्लिएमा टिम सफल हुनेछैन। इंग्लिस सधैं टिम बलियो देखिने गरे पनि युरो कपको उपाधि अहिलेसम्म हात पर्न सकेको छैन।
यसपटक फरक रणनीति सहित मैदानमा उत्रने हो भने मात्र इंग्ल्यान्डले युरो जित्ने प्रवल सम्भावना रहेको छ।
प्लेयर टु वाच- ह्यारी केन
इंग्लिस कप्तान ह्यारी केन युरो कपको गोल्डेन बुटको प्रवल दाबेदार हुन्। अग्ला कदका उनी प्रिमिएर लिगका समेत गोल्डेन बुट विजेता हुन्।
केन चलेको खण्डमा इंग्ल्यान्डको युरो कपमा राम्रो र शसक्त उपस्थिति हुनेछ। केनलाई युरोमा यसपटक राम्रो मिडफिल्डको साथ रहेको छ। यसकारण पनि इंग्लिस टिम निकै बलियो देखिएको छ।
जर्मनी
प्रशिक्षक- जोचिम लो
कप्तान- म्यानुअल नोयर
जर्मनीको खेल हरेक ठूलो प्रतियोगितामा लोभ लाग्दोहुन्छ। यसपटकको युरोमा जर्मनी ३-४-३ सहितको फर्मेसनमा मैदानमा उत्रने पक्का जस्तै छ।
वायर्न म्युनिखका ८ जना खेलाडी समेटिएको टोलीमा थोमस मुलर र माट हुम्मेल्सले फेरि पनि टिममा स्थान बनाएका छन्।
जर्मनीको टोली निकै प्रभावशाली देखिएको छ। खेल नै त हो, समूह चरणबाट २०१८ को विश्वकपमा आउट हुन परेको सम्झनाले टिमलाई आझै पनि पिरल्ने गरेको हुनुपर्छ।
जर्मनको टोलीमा नोयर, मुलर , किम्मिच, रुदिगेर, साने जस्ता प्रभाव पर्ने खेलाडी रहेका छन्। युरोको एउटा मूख्य दाबेदार रहेको जर्मनीले प्रशिक्षक जोचिम लोलाई यस युरोपछि विदाई गर्ने संकेत दिइसकेको छ।
प्लेयर टु वाच - जोसुवा किम्मिच
म्युनिकका प्रतिभावान खेलाडी किम्मिच मिडफिल्डमा सधैं बलिया देखिन्छन्।
किम्मिच टोलीलाई चाहिएको खण्डमा राइट ब्याक तथा मिडफिल्डमा पनि उत्तिकै प्रभावशाली हुने गर्छन्, उनलाई मिडफिल्डमा यस पटक टोनी क्रुस तथा गुन्डोगनको साथ मिल्ने छ।
किम्मिचको भाग्य चल्यो र उनको उपस्थितिले खेल कायापलट भयो भने यसपालि जर्मनवासीले टोलीमा पूर्व खेलाडी मेरोस्लाव क्लोसलाई पनि भुल्ने छन् कि!
स्पेन
प्रशिक्षक- लुइस एनरिक
कप्तान- सेर्जियो बुस्केट
स्पेनको टोलीमा यस पटक निकै आश्चर्य हुनपुगेको छ। टिममा एकजना पनि रियल म्याड्रिडका खेलाडी छैनन्, चालु घरेलु लिगका बलवान र उत्कृष्ट डिफेन्डर सेर्जियो रामोस युरोकप टिममा नपर्नुलाई अनौठो मानिएको छ। उनको अभाव खड्किएको प्रमाणित भएमा प्रशिक्षकले ठूलो आलोचना सहनुपर्ने हुन सक्छ।
स्पेनको टोलीमा नयाँ अनुहारहरू देखिएका छन् । यसपटक डिफेन्समा अमिरिक लपोरटे र पाउ टोरेस हुने लगभग पक्का छ।
टोरेसले भर्खरै भिल्लारियलबाट युरोप लिग जितेका थिए भने लपोरटेले म्यानचेस्टर सिटीबाट लिग जितेका थिए।
स्पेनको अग्रपंक्ति यसपटक भिल्लारियलकै जेराड मोरेनोले सम्हाल्ने छन्। कप्तान बुस्केटलाई कोरोना पोजेटिभ भएपछि स्पेन अहिले अन्योलमा रहेको छ।
प्लेएर टु वाच - थियागो अलकन्टारा
थियागो नामले परिचित लिभरपुलका मिडफिल्डर हुन्। उनी जस्ता खेल बुझ्ने, बल निकाल्ने र सही समयमा ट्याकल गर्ने खेलाडी कम नै भेटिन्छन्।
लिग तथा स्पेनमा पनि थियागो निकै उत्कृष्ट खेल्ने गर्छन्। उनको खेल्ने शैली अरु मिडफिल्डर भन्दा निके फरक रहेको छ। थियागोको खेलअनुसार स्पेनको भाग्य परीक्षण हुनेमा विवाद छैन।
अन्त्यमा, सन् २००४ को युरोकपमा कसैलाई पनि लागेको थिएन कि ग्रिस फाइनलमा पुग्छ भनेर। अनि सायद लुइस फिगो र क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई हराउँछ भनेर। यसअर्थमा फुटबल पनि अनिश्चितताको खेल हो।