१६ औं संस्करणको युरोकप फुटबलमा पोल्याण्डलाई हराउँदै स्लोभाकियाले विजयी सुरूवात गरेको छ।
रूसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सम्पन्न खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरमा हराउँदै विजयी सुरूआत गरेको हो।
पहिलो हाफमा १-० ले खेलमा सुरूवाती अग्रता लिएको स्लोभाकियाले दोस्रो हाफमा १० खेलाडीमा सिमित पोल्याण्डमाथि थप १ गोल गर्दै उत्कृष्ट सुरूवात गरेको हो।
खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो।
स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो।
पहिलो हाफमा १-० ले पछि परेको पोल्याण्डले दोस्रो हाफको सुरूमै अर्थात दोस्रो हाफ सुरु भएको ३२ सेकेन्डमै गोल गर्दै खेल बराबरीमा ल्यायो। मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा सिमित भयो। ग्रेगोर्ज क्रिकोवियाक दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदान बाहिरिए।
त्यसपछि केही दबाबमा रहेको पोल्याण्डमाथि स्लोभाकियाले लगातार आक्रमण बुन्दै लग्यो। खेलको ६९ औं मिनेटमा कर्नर बलमा मिलान स्क्रिनियारले उत्कृष्ट गोल गर्दै खेलमा पुनः अग्रता दिलाए।
त्यसपछि खेलमा दुबै टोलीले पाएका केही राम्रा अवसर खेर फाल्दा थप गोल हुन नसक्दा खेल स्लोभाकियाले २-१ ले आफ्नो पक्षमा पार्यो।
यो सँगै समूह ‘ई’ मा रहेको स्लोभाकियासँग ३ अंक जोडेको छ।
त्यसअघि सोमबार नै भएको खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित गर्यो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे ।