१६ औं संस्करणको युरोकप फुटबलमा अहिले साविक विजेता पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गरिरहेको छ। पुस्कास एरिनामा जारी खेल हेर्न ६१ हजार भन्दा बढी दर्शक उपस्थित भएका छन्।
हंगेरीको राजधानी बुडापेस्टको ‘पुस्कास एरेना’मा जारी समुह ‘एफ’को खेलमा हंगेरीको राष्ट्रिय फुटबल संघले अधिकांश दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिएको छ।
युरो कप आयोजना गरिरहेका अरू रंगशालाले मात्र २५ देखि ५० प्रतिशत दर्शकलाई रंगशाला प्रवेशमा अनुमति दिँदा हंगेरीले शत प्रतिशत दर्शकलाई अनुमति दिएको छ।
त्यस्तै विदेशी समर्थकले रंगशाला प्रवेश गर्दा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने शर्त लगाइएको थियो।
हंगेरी को ९.८ मिलियन मध्ये ५.३ मिलियन जनसंख्याले कोरोना भाइरसविरुद्धको दुवै खोप लगाइसकेको हुँदा हंगेरीका प्रधानमन्त्री, ‘भिक्टर ओर्बान’ले शत प्रतिशत दर्शकलाई रंगशाला गएर युरो कप हेर्न अनुमति दिए अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
प्रधानमन्त्री ओर्बानले भ्याक्सिनले ‘बुलेटप्रुफ भेष्ट’ को काम गर्ने बताउँदै कोरोना भाइरसविरुद्ध खोप लगाएका सम्पूर्ण फुटबल प्रेमीलाई मैदान प्रवेश खुला गरिएको बताएा थिए।
जारी हंगेरीविरुद्ध पोर्चुगल बिचको खेलमा ‘फूल हाउस’ दर्शक हुनु पछिल्लो एक वर्षकै रेकर्ड भएको छ। कोरोना भाइरस भित्रिए देखि शत प्रतिशत दर्शकलाई कुनै पनि प्रमुख अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागि रंगशाला प्रवेशमा अनुमति दिइएको थिएन।
युरो २०२० अन्तर्गत मंगलबार हंगेरीविरुद्धको खेलमा मैदान उत्रिएसँगै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएका छन्।
जारी खेलमा हंगेरीविरुद्ध मैदान उत्रिएसँगै रोनाल्डो पाँच संस्करणको युरो कप खेल्ने पहिलो खेलाडी बने। यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलेका थिए।
चार संस्करणको युरो कप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।
हंगेरीविरुद्ध गोल गरे उनले अर्को रेकर्ड बनाउनेछन्। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन्। यद्यपी पहिलो हाफमा रोनाल्डोले पाएको अवसर खेर फाले। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
उनले चार युरो कपमा उनले ९ गोल गरेका छन्। रोनाल्डोले यसअघि फ्रान्सका प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान बराबरी गरेका थिए।
रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए।
यस्तै रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरो कपमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।
रोनाल्डोको नाममा युरो कपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि छ। उनले चार संस्करणमा २१ खेल खेलिसकेका छन्।