कोपा अमेरिका २०२१ को सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बियाबीचको खेल भावुक पार्ने खालको थियो। अर्जेन्टिनी कप्तान लिओनल मेसीको खुट्टामा रगत बगिरहेको थियो।
खेल पेनाल्टी सुटआउटमा गयो, त्यहीँ घाइते खुट्टाले टप कर्नरमा पेनाल्टी हाने। गोल भयो। जसले झनै भावुक बनाइदियो।
मेसी एक विशेष खेलाडी हुन्। विशेष लिडर हुन्। लाग्छ मेसी एउटा कलाको नाम हो, एउटा योद्धाको नाम हो।
आखिर एउटा अविश्रान्त लडाइँमा मेसीले सफलता हासिल गरेका छन्। कोपा अमेरिका २०२१ जित्दै पहिलो मुख्य प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन्।
अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कोलोनीले अर्जेन्टिनाले ब्राजिलविरुद्धको फाइनल जितेपछि भने, 'मेसी आफ्नो खुट्टामा घाउ बोकेरै कोलम्बिया र ब्राजिल विरूद्ध खेलेका थिए।'
यो भनाइले मेसी यो अन्तर्राष्ट्रिय पदकका लागि कति व्यग्र प्रतीक्षामा थिए भन्ने संकेत गर्छ। आखिर त्यो व्यग्र प्रतीक्षाले सुमधुर विश्राम लिएको छ।
विश्व फुटबलकै महान् खेलाडीले आफ्नो राष्ट्रिय टिमबाट कुनै उपाधि नजित्नु त्यो फुटबलकै अन्याय थियो।
मेसीको बचाउका लागि अगाडि कुनै सुविधा थिएन किनकि उनी अर्जेन्टिनी थिए। जहाँ शताब्दीकै उत्कृष्ट फुटबल खेलाडीको जन्म भएको थियो। डियगो म्याराडोना जन्मिएको देशमा जन्मिनु मेसीका लागि अवसर र चुनौती दुवै थिए।
कोपा अमेरिका २०२१ का लागि ब्राजिलसँग फाइनलमा भिड्नु निकै कठिन थियो। अनि हात पारेको विजय सबैभन्दा मिठो।
'आज म जहाँ छु मेसीका कारण छु। मेसीले मलाई धन्यवाद दिदैं भनेका थिए- यो हाम्रो भन्दा अझ तिम्रो फाइनल हो। सन् २०१४ को विश्वकप फाइनलमा तिम्रो अभाव खड्किएको थियो।' यी भनाइहरू ब्राजिलविरुद्धको फाइनल खेल सुरू हुनुभन्दा अगाडि एन्जल डि मारियालाई मेसीले भनेका थिए। डि मारिया घाइते भएकै कारण विश्वकप २०१४ को फाइनलमा खेल्न पाएका थिएनन्।
पतलो शरीर भए पनि निकै तीव्र गतिमा दौडिने डि मारियाको अभाव मैदानमा खड्किनु स्वभाविक थियो।
डि मारिया र मेसीको जोडीले जुनियर टिमबाट अन्तर्राष्ट्रिय ट्रफी जितिसकेको थियो। यु-२० विश्वकप र २००८ को ओलम्पिक स्वर्ण।
डि मारिया अर्को गोन्जालो हिग्युइन बनेनन् बरू मेसीको सपनलाई साकार रूप दिने नायक बने।
'फुटबललाई माया गर्ने हाम्रो जस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवानकै उपहारका रूपमा पाएकोमा हामी भाग्यमानी छौँ, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो। मेसी अर्जेन्टिनाका बहुमूल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ,' अर्जेन्टिनाका पूर्वराष्ट्रपति माउरिसियो म्याक्रीले मेसीको तारिफ गर्दै भनेका थिए।
सन् २०१६ को कोपा अमेरिकामा चिलीसँग पराजित भएपछि मेसीले संन्यासको घोषणा गरे। राष्ट्रपति कार्यालयले नै संन्यासको घोषणा पुनर्विचार गर्न आग्रह गर्नु र संसारभरका समर्थकहरूले समेत दबाव दिएपछि मेसीले संन्यास फिर्ता लिएका थिए। अहिले त्यसको फल अर्जेन्टिनाले पाएको छ।
मेसीका जर्सीहरू च्यात्ने अर्जेन्टाइनहरू नै आज मेसीका जर्सीहरू सम्हाल्दै छन्।
ब्युनर्स आयर्स लगायतका शहरहरूमा हजारौं मानिसहरू ओर्लिएका छन्। रोसारियोमा त अझै मेसीलाई भगवानकै रूपमा पूजा गरिन्छ।
रोसारियो त्यो शहर हो जहाँ मेसी मात्र होइन विश्व क्रान्तिका मानक चेग्वभारा जन्मिएका थिए। फुटबल पारखी र क्रान्ति प्रेमीहरूका लागि त्यो पवित्र तीर्थस्थल जस्तै हो।
कोपा अमेरिका २०२१ का खास हिरो हुन् इमी मार्टिनेज। सायद उनी नभएको भए अर्जेन्टिनाको फाइनल यात्रा सेमिफाइनलमै टुंगिन पनि सक्थ्यो।
कोलम्बियासँगको पेनाल्टी सुटमा उनको अभूतपूर्व प्रदर्शनकै कारण आजको सफलताको बाटो कोरिएको हो। ६ फिट ५ इन्च अग्ला मार्टिनेज छाँया परेका थिए। अहिले एकैचोटि चर्चामा आएका छन्।
मार्टिनेजले भनेका छन् 'म मेसीका लागि विश्वकप जित्न चाहन्छु। म मेसीका लागि आफ्नो जीवन नै समर्पण गर्न सक्छु।'
मेसीको एउटा सपना बाँकी छ, विश्वकप ! मार्टिनेज, डिपोल, रोमेरो, पार्डेस जस्ता प्रतिभाशाली खेलाडीहरूको उत्कृष्ट लय तथा मेसी र डि मारिया जस्ता अनुभवी खेलाडीहरूको संयोगले त्यो संभव पनि हुन सक्छ।
यो कोपा अमेरिकामा मेसी र नेइमारको घतलाग्दो दोस्ती पनि देखियो। जुन अन्य खेलाडीहरूका लागि शिक्षा हुनसक्छ। ब्राजिलियन नेइमार पराजित हुँदा आँशु बगाँउदै मेसीको अँगालोमा बाँधिएको दृश्यले दिने सन्देश निकै महत्वपूर्ण छ।
लामो अँगालोमा बाँधिएका मेसी र नेइमार मैदानमा कट्टर दुश्मन थिए। तर जब खेल सकियो संसारले देख्यो एकआपसप्रतिको सम्मान, खेल प्रतिको जोश अनि गहकिलो दोस्ती। यी दुवै संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित भए।
रियोको माराकना स्टेडियममा जब अन्तिम सिठी बज्यो मेसी जमिनमा घोप्टिएर रून थाले। मेसी मात्र होइन संसारभरका खेलप्रेमीहरू खुशीले आल्हादित भए।
मेसी आफ्नै सहपाठी खेलाडीहरूबाट घेरिए। आकाशमा फ्याँकिए लाग्थ्यो हिजोसम्म मेसी नामको एटलसले आकाश बोकिरहेको थियो आज त्यही एटलसलाई अरू कसैले बोक्दैछ।
मेसी अब यस धर्तीमा रहँदा या धर्तीबाट विदा हुँदा थिचिरहने एउटा भारीबाट मुक्त भएका छन्। आलोचना गर्नेहरू कोषौं टाढा भागिसकेका छन्।
मेसीको जीवनमा एउटा भ्याकुम भने अझै छ, विश्वकप फुटबल। सायद त्यो अब आँउदो विश्वकपमा पूरा हुन सक्छ। यदि त्यो पूरा भयो भने मेसीलाई प्रश्न गर्न भगवानलाई समेत एकपटक सोच्नु पर्नेछ। जीवन या मृत्यु दुवैमा मेसी अब खुला आकाशमा उडान भर्न सक्छन्।
आज कोरोना भाइरसको यो कहरमा मानिसको अनुहारबाट मुस्कान अपहरण हुँदैथियो। त्यो अपहरित मुस्कानलाई मानिसहरूका अँजुलीहरूमा पोख्ने मेसीलाई सलाम ! फुटबलमा मुस्कान ल्याउने मेसी आखिर एउटा कलाको नाम न हो।
- लेखक पाण्डेय हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आएका छन्।