जापानमा जारी ३२ औं संस्करणको ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा साविक विजेता ब्राजिल यू-२३ र स्पेनले स्वर्ण पदकका लागि भिड्ने भएका छन्।
मेक्सिको यु २३ टोलीलाई हराउँदै ब्राजिल यु २३ फाइनलमा प्रवेश गरेको हो।
मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यू-२३ लाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिल स्वर्ण पदकको भिडन्तमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरूवाती दुई प्रहारमा गोल गर्न सकेन।
ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए। त्यसपछि मेक्सिकोका एडुआर्डो अगिएरको प्रहार गोलरक्षक अबेर्दार सान्तोसले विफल पारे। ब्राजिलका ग्याब्रिएल मार्टिनेलीले दोस्रो प्रहारमा गोल गर्दा जोहान भास्केजको प्रहार पोस्टमा लाग्दै बाहिरियो।
त्यसपछि ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई जितको संघारमा पुर्याए। मेक्सिकोका कार्लोस रोड्रीग्वेजको प्रहार गोल भएपनि त्यसपछि रेनिएरले गोल गर्दै ब्राजिललाई फाइनलसम्म पुर्याए। ब्राजिल अघिल्लो संस्करणमा घरेलु मैदानमा जितेको पदक रक्षा गर्ने धुनमा छ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली जापानलाई हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको छ।
रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेल्ने विंगर मार्को एसेन्सियोको निर्णायक गोलमा गोलमा स्पेन यू-२३ ले जापानलाई १-० गोल अन्तरले हराउँदै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित भएपछि ब्राजिलले टाइब्रेकरमा ४-१ को जित दर्ता गरेको थियो।
स्पेन र जापानबीच निकै प्रतिस्पर्धात्मक खेल पनि टाइब्रेकरतर्फ उन्मुख हुँदा एसेन्सियोले गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयको ५ मिनेट समय बाँकी हुँदा एसेन्सियोले विजयी गोल गरे। उनले मिकेल ओयाराज्बलको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।