नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षकमा लुइस भान गाल नियुक्त भएका छन्। डच फुटबल संघले बुधबार ६९ वर्षीय भान गाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
उनले सन् २०२२ सम्मको लागि टिम हेर्ने जिम्मेवारी पाएका छन्। यदि नेदरल्यान्ड्स विश्वकपमा छनोट भएमा सन् २०२२ को विश्वकपसम्म भान गालले नै टोलीको नेतृत्व गर्नेछन्। उनी फ्रान्क डि बोएरको स्थानमा डच टोलीको मुख्य प्रशिक्षक बनेका हुन् ।
युरो २०२० को अन्तिम १६ मा चेक गणतन्त्रसँग नेदरल्यान्ड्स पराजित भएसँगै प्रशिक्षक फ्रान्क डे बोरले टिम छाडेका थिए।
भान गाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त भएका हुन् ।
भान गालले पहिलो पटक सन् २००० मा डच टिम सम्हालेका थिए । तर सन् २००२ को विश्वकपमा टिम छनोट हुन असफल भएपछि उनले राजीनामा दिए ।
यस्तै सन् २०१२ मा उनी फेरि डच टिममा फर्केका । त्यसको दुई वर्षपछि नेदरल्यान्ड्सको टिम सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा तेस्रो स्थान हात पारेको थियो ।
अनुभवी प्रशिक्षक भान गालले १९९१ देखि प्रशिक्षण करियर सुरु गरेका थिए । उनले सन् १९९७ सम्म आयाक्सको टोली सम्हाल्दा च्याम्पियन्स लिग जिताएका थिए । त्यसपछि उनले बार्सिलोना, ए जेट, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हालेका थिए ।