स्वीडेनलाई हराउँदै क्यानडाले महिला ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलको उपाधि जितेको छ। उपाधिको बलियो दाबेदार स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पन्छाउँदै क्यानडाले स्वर्ण हात पारेको हो।
निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
जापान राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलको ३४ औं मिनेटमा स्टिना ब्ल्याकटेनिएसको गोलबाट स्वीडेनले अग्रता लिएको थियो। ६७ औं मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत गोल गर्दै क्यानडालाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन्। त्यसपछि गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुदै पेनाल्टीमा लम्बिएको थियो।
रोमाञ्चक बनेको पेनाल्टीमा स्वीडेनकी कोसोभारे एस्लाएनीको पहिलो पेनाल्टी नै क्रसबारमा लाग्दै बाहिरिएको थियो। लगत्तै क्यानडाकी जेस्सी फ्लेमिङले गोल गर्दै खेलमा अग्रता दिलाइन्।
त्यसपछि स्वीडेनकी नाथालि बिजोर्नले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। क्यानडाकी लरेन्सको प्रहारलाई स्वीडेनकी गोलरक्षक लिन्डालले बचाउँदै खेलमा फर्काइन्। त्यसपछि स्काउजले गोल गर्दै स्वीडेनलाई २–१ ले अघि बढाइन्।
त्यसपछि भेनेसा गिलेसको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा स्वीडेन अघि बढेको थियो। त्यसपछि एन्भेगार्डको प्रहारलाई लावीले बचाउँदै क्यानडाको सम्भावना जीवितै राखिन्।
त्यसपछि एड्रिएना लिओनको प्रहार पनि गोल हुन नसकेपछि खेल रोमाञ्चक बनेको थियो। सेगरको प्रहार बाहिरिँदा स्वीडेन जितबाट वञ्चित बन्यो।
क्यानडाकी डिएनी रोसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन्। एन्डरसनको प्रहारलाई लावीले बचाउँदा क्यानडाको लागि छैठौं प्रहारमा आएकी जुलिया ग्रोस्सोले गोल गर्दै टोलीलाई ३–२ को रोमाञ्चक जितसहित स्वर्ण दिलाइन्।