अर्जेन्टिनाका फरवार्ड लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गर्न पेरिस पुगेसँगै क्याटलान क्लब बार्सिलोनाले पूर्व कप्तान लियोनेल मेसीको पोस्टर हटाएको छ।
२१ वर्ष क्लबमा बिताएका मेसीले बार्सिलोना छाडेसँगै मंगलबार घरेलु मैदान क्याम्प नोउमा रहेको मेसीको पोस्टरहरू उक्काइएको हो।
ला लिगाको आर्थिक नियमका कारण मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकेको बार्सिलोनाले यही आइतवार उनलाई बिदा गरिसकेको छ। मेस्सी आजै पेरिसतर्फ उड्दै गर्दा नोउ क्याम्पबाट उनका तस्बिर अंकित पोस्टर हटाउन थालिएको हो।
३४ वर्षीय मेसीले गत आइतबार भाबुक सम्बोधन गर्दै बार्सिलोनाबाट बिदा भएका थिए।
फ्रि एजेन्ट मेसीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति जनाएका हुन्। गत विहीबार बार्सिलोनाले क्लबमा मेसी नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरू भएको थियो। मेसीका पिता तथा एजेन्ट जोर्गे मेसीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए ।
मेसीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् । उनिसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ। पिएसजीले फ्रि एजेन्ट मेसीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ।
पिएसजीले अब चाँडै मेसीलाई औपचारिक रूपमा सार्वजनिक गर्नेछ। मेसीको प्रतिक्षामा आइतबार नै हजारौं समर्थक पेरिसमा भेला भएका थिए। पिएसजीले आजका लागि आएफिल टावर बुक गरेकाले सार्वजनिक कार्यक्रम हुने सम्भावना पनि छ।