अर्जेन्टिनी खेलाडी लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट ३० नम्बर जर्सी लगाएर खेल्ने भएका छन्। करिब २ दशक बार्सिलोनामा बिताएका मेसीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए ।
बार्सिलोना छाड्ने घोषणामा आइतबार निकै भावुक देखिएका मेसीले मंगलबार पिएसजीसँग औपचारिक रूपमा २ वर्षका लागि सम्झौता गरे। मेसीलाई पेरिसमा हजारौं समर्थकले स्वागत गरेका थिए।
मेसीले पिएसजीबाट ३० नम्बर जर्सी लगाएर खेल्नेछन्। यसअघि उनलाई नेयमारले आफूले प्रयोग गर्दै आएको १० नम्बरको जर्सी दिने भने पनि उक्त प्रस्तावलाई मेसीले अस्वीकार गर्दै आफैंले ३० नम्बर रोजेको बताइन्छ।
मेसीले बार्सिलोनाबाट ब्यवसायिक जीवन शुरू गर्दाको शुरूवाती दुई वर्ष ३० नम्बरको जर्सीनै लगाएर खेलेका थिए।
मेसीको शुरुवाती सम्झौता दुई वर्षको रहे पनि थप एक वर्ष बढाउन मिल्नेछ।
पिएसजीले फ्रि एजेन्ट मेसीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो। थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ।
क्लबसँग सम्झौता गर्दैं मेसीले पिएसजीनै आफ्नो लागि उत्तम क्लब रहेको बताएका छन्। आफू पेरिसमा रहेर करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक रहेको भन्दै क्लवसँग सम्झौता गरेर अघि बढ्ने बताए।
‘क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो। म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु। फेरि यहाँका खेलाडी र स्टाफ कति मिहिनेती छन् भन्ने मलाई थाहा छ’, उनले भने ।
यसअघि मेसी आइतबार स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका थिए।
बिदाइ कार्यक्रममा मेसीले पिएसजीसँग आबद्ध हुन लागेको कुरा नकारेका थिएनन्। उनले आफूलाई पिएसजी लगायत धेरै क्लबको प्रस्ताव आएको बताएका थिए।
बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिएका थिए।
यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो।
आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो।
१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो।
यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो।
सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए।
तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो। जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो।
अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए।
मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन्। उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए।
सिजनमा बार्सिलोना ला लिगामा तेस्रो भयो। बार्सिलोना २००८ पछि ला लिगामा तेस्रो भएको थियो।
बार्सिलोना तेस्रो भए पनि मेसी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए।
मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए।
मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ।
मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।
त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।
सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) मा बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याएको फ्रेन्च क्लब पिएसजीले लिओनल मेसीसँग पनि सम्झौता गर्न चाहेको बुझिएको छ।
मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ।