भ्यालेन्सियाले स्पेनी ला लिगाको उद्घाटन खेलमा गेटाफेलाई हराउँदै विजयी सुरूआत गरेको छ। दस खेलाडीमा सीमित भ्यालेन्सियाले शुक्रबार गेटाफेमाथि १–० को जित निकालेको हो।
खेलको तेस्रो मिनेटमै डिफेन्डर ह्युगो गुलेमन रातो कार्ड खाँदै बाहिरिएपछि बाँकी समय भ्यालेन्सिया १० खेलाडीमा सिमित भएको थियो।
गेटाफेका मिडफिल्डर नेमान्जले माकसिमोभिचमाथि डरलाग्दो ट्याकल गरेको आरोपमा उनलाई सिधा रातो कार्ड दिइएको हो। त्यसको आठ मिनेटपछि कार्लोस सोलरले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाए।
रूसी विन्गर डेनिस चेरयेसेभलाई लडाएपछि भ्यालेन्सियाले पेनाल्टी प्रहारको अवसर पाएको हो।
उक्त गोल नै खेल जित्नका लागि पर्याप्त रह्यो।
खेलको अन्त्यतिर गेटाफे पनि १० खेलाडीमा सीमित रह्यो। दोहोरो पहेँलो कार्ड पाएका एरिक कबाकोले मैदान छाडेपछि ७६ औं मिनेटदेखि गेटाफे १० खेलाडीमा सिमित भएको थियो।
यो जितसँगै भ्यालेन्सियाले लिगमा महत्वपूर्ण ३ अंक जोडेको छ।