विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १०० औं स्थानमा थियो।
एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्वीडेन दोस्रो स्थानमा छ। त्यसैगरी, जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौं, क्यानडा छैटौं, ब्राजिल सातौं, इङ्गल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १० औैं स्थानमा रहेको छ।
टेबलटेनिस खेलाडी छनोट
अखिल नेपाल टेबलटेनिस सङ्घले कतारमा आयोजना हुने २५ औं एशियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने छनोट प्रतियोगिताबाट समान तीन–तीन पुरूष/महिला खेलाडी छनोट गरिएको सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए।
पुरूषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भएका छन्। वैकल्पिकमा एभिएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन्।
त्यस्तै, महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिएका छन्।
वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियङ्का राई छन्।
छनोटमा समान नौ-नौ पुरूष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। रासस