बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।
घरेलु टोली ग्रिउथेर फर्थलाई ३-१ गोल अन्तरमा हराउँदै बायर्नले आफ्नाो अपराजित यात्रा कायमै गरेको हो। १० खेलाडीमा समेटिएको बायर्नको जितमा जर्मन मिडफिल्डरद्धय थोमस मुलर र योसुवा किम्मिखको गोल गरे। बायर्नले एक गोल उपहार पाउँदा ग्रिउथेर फर्थका सेडरिक इट्टेनले एक गोल फर्काए।
स्पोर्टपार्क रोनहोफ थोमस सोम्मेर फर्थमा शुक्रबार राति भएको खेलमा पाहुना टोली बायर्नले खेलको १०औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।
३१औं मिनेटमा योसुवा किम्मिखले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
४८औं मिनेटमा बेन्जामिन पाभार्ड सिर्ध रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न दोस्रो हाफ १० खेलाडीमा सीमित बनेको थियो।
तर ६८ औं मिनेटमा सेवास्टिएन ग्रिसवेकले आत्मघाती गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो। निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी रहँदा सेडरिक इट्टेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए पनि घरेलु टोलीको हार टार्न सकेन।
यो जितसँगै अपराजित रहेको बायर्न ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। बायर्नले एक खेल कम खेलेको वल्फ्सवगलाई ३ अंकले पछि पारेको छ। पराजित ग्रिउथेर फर्थ १ अंक जोडेर पुछारमा रहेको छ ।