आगामी वर्ष कतारमा हुने फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शुक्रबार राति साइप्रसमाथि क्रोएसियाले सानदार जित निकालेको छ।
साइप्रसकै मैदानमा सम्पन्न खेलमा क्रोएसियाले घरेलु टिमविरूद्ध ३–० गोलको जित निकालेको हो।
क्रोएसियाको जितमा इभान पेरिसिस, जोस्को जिभारडिओल र मार्को लिभाजाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।
खेलको ५४ औं मिनेटमा एक गोलको अग्रता बनाएको समयमा मिडफिल्डर लुका मोड्रिचले पेनाल्टीको अवसर पाए पनि उनले सो अवसर सदुपयोग गर्न सकेनन्।
८०औं मिनेटमा जोस्को जिभारडिओलले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियाको जित पक्का गरे।
त्यसअघि पहिलो हाफको इन्ज्युरी समयमा मोड्रिचकै पासबाट इभान पेरिसिचले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।
यो जितपछि क्रोएसिया समूह ‘एच’ मा ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १६ अंक नै रहे पनि रसिया दोस्रो स्थानमा रहेको छ । पराजित साइप्रस ४ अंक जोडेर पुछारमा रहेको छ । यही समूहको अर्को खेलमा स्लोभेनियाले माल्टालाई ४–० ले पराजित गर्दा रसियाले स्लोभाकियालाई १–० ले पराजित गरेको छ ।