स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भयो।
खेलको ३१ औं मिनेटमा भिनिसियस जुनियरको शसक्त प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेर्रेराले विफल पारेका थिए। ४४औं मिनेटमा इडुआर्डो कामाभिङ्गाको शसक्त हेड प्रहारमा पनि ओसासुनाका गोलरक्षक सर्जियो बाधक बने। ६२ औं मिनेटमा कप्तान करिम बेन्जेमाको पोस्ट छेउको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।
७५ प्रतिशत बल पोसेसन राखेको रियलले ओसासुनाको डिफेन्स लाइन चिर्न सकेन। खेलभर १७ वटा पोस्ट प्रहार गरेको रियल अन्ततः गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। डिफेन्सिभ रणनीति अपनाएको पाहुना टोली ओसासुना आफ्नो रणनीतिमा सफल बन्यो। ओसासुनाले खेलभर सात वटा फितलो पोस्ट प्रहार गरेको थियो। ओसासुनाका मिडफिल्डर डेभिड गार्सिया ‘म्यान अफ दी म्याच’ भए।
बराबरीसँगै रियल शीर्षस्थानमा उक्लिएको छ। १० खेलमा ६ जित, तीन बराबर र एक हार खेपेको रियलको २१ अंक छ। ११ खेलबाट १९ अंक बनाएको ओसासुना छैटौं स्थानमा उक्लिएको छ।
बुधबार राति नै भएको अर्को खेलमा बार्सिलोनालाई रायो भालेकानोको नमिठो झट्का लागेको छ। बार्सिलोना रायो भालेकानोसँग १–० गोलले स्तब्ध बन्यो। घरेलु मैदानमा रायो भालेकानोलाई जिताउन राडामेल फाल्काओले ३०औं मिनेटमा गोल गरे।
फाल्काओले ओस्कार ट्रेजोको पासमा गोल गरेका थिए । ६९ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बार्सिलोनाले गोल गर्न सकेन ।
जितसँगै पाँचौं स्थानमा उक्लिएको रायो भालेकानोको ११ खेलबाट १९ अंक पुगेको छ। लगातार दोस्रो हार खेपेको बार्सिलोना १५ अंक सहित नवौं स्थानमा छ। यसअघि ‘एल क्लासिको’ भिडन्तमा पनि बार्सिलोना रियल म्याड्रिडसँग २–१ गोलले पराजित भएको थियो ।
अर्को खेलमा सेभिया १० खेलाडीमा समेटिएको मालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएको छ । मालोर्काको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्काले सुरुवाती अग्रता लिएको थियो ।
२२औं मिनेटमा एन्टोनियो सान्चेजले गोल गर्दै मालोर्कालाई अग्रता दिलाए । ७३औं मिनेटमा सेभियाका इरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा जउमो कोस्टा रातो कार्ड पाउँदै बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै सेभिया दोस्रो स्थानमा उक्लिएको छ। समान २१ अंक बनाएको सेभिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । १३ अंक बनाएको मालोर्का १२औं स्थानमा छ।