काठमाडौंको च्यासल क्लवलाई हराउँदै धुलाबारी मोरङको बेलबारीमा जारी ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलवारी गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ।
बेलबारीमा बिहिबार भएको उद्धघाटन खेलमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, नेपाली मुलका इटालीयन खेलाडी विकास मेराग्लिया, नाइजेरियन खेलाडी मैसा, केचा एनिकलगायत खेलाडीसहित मैदान उत्रिएको च्यासललाई हराउँदै झापाको रोलिङ क्लब धुलाबारी अन्तिम चारमा प्रवेश गरेको हो।
खेलको १२ औं मिनेटमा रूमेस बड्तौलाको पासमा सुसान लामाले उत्कृष्ट गोल गर्दै च्यासलका सुरूवाती अग्रता दिलाएको थिए।
पहिलो हाफमा १-० को अग्रता लिएको च्यासलविरूद्ध धुलाबारीले गोल फर्कायो। खेलको ५९ औं मिनेटमा हेनरी वेलिले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि दुबै टोलीले पाएका केही राम्रा अवसरलाई खेर फाल्दा निर्धारित समयसम्म १-१ को बराबरी भयो। त्यसपछि खेलको निर्णय ट्राइबेकरबाट भयो।
ट्राइब्रेकरमा काठमाडौंको च्यासललाई पन्छाउँदै धुलाबारीले बाजी मार्यो।
ट्राइबेकरमा रोलिङ क्लव धुलाबारीका तर्फबाट मार्टिन सोली, जोन जोरू, बविन बोहोरा र रोहन कार्कीले गोल गर्न सफल भए भने च्यासलका तर्फबाट अजित गुरुङ, मैसा र केचा एनिकले गोल गरे अर्विन राईको बल गोरक्षक मनोज प्रधानले बचाए त्यस्तै कमल श्रेष्ठको बल बारमा लागेर फर्किँदा रोलिङ क्लव धुलाबारीले ३-४ अन्तरले जित्दै सेमिफाइनल प्रवेश गरेको छ।
नेपाली मुलका इटालीयन खेलाडी विकास मेराग्लियाले च्यासल क्लवबाट डेब्यू गरेको खेल हेर्न स्थानीयको बाक्लो उपस्थिति थियो। यद्यपी विकासको डेब्यू सम्झनलायक रहेन।
प्रतियोगिताको म्यान अफद म्याच रोलिङ क्लव धुलाबारीका गोलरक्षक मनोज प्रधान भए। उनले नगद ५ हजार ५ सय प्राप्त गरे।
भोलिको खेल सशस्त्र प्रहरी बल काठमाडौंले भारतको आमुक परिवार वेष्ट बंगालको सामना गर्नेछ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजारसहित ट्रफि प्राप्त गर्ने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए।
राईका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्ड फिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ११-११ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
कात्तिक १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता हुने छ।
प्रतियोगितामा काठमाडौंका सशस्त्र प्रहरी बल (एपिएफ), हिमालय शेर्पा क्लब र च्यासल युथ क्लबसहित रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा, आमुक्त परिवार वेष्टबंगाल, भारत र आयोजक डाँगीहाट युथ क्लब मोरङले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।