ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ। सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३–० गोलले स्तब्ध बनायो।
पाहुना टोली ग्रानाडालाई जिताउन जर्मन सान्चेज, लुइस स्वारेज र एन्टोनियो पुयर्तासले गोल गरे। सान्चेजले सातौं मिनेटमा रूवेन रोचिनाको पासमा खाता खोलेका थिए। स्वारेजले ३८औं मिनेटमा गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाए। ६९औं मिनेटमा पुयर्तासले डिबक्स छेउबाट गोल गर्दै ग्रानाडालाई सहज जित दिलाए।
५२ प्रतिशत बल पोसेसन राखेको ग्रानाडाले खेलभर १२ वटा पोस्ट प्रहार गरेको थियो । लिभान्तेले औसत बल पोसेसन राखे पनि गोल फर्काउन सकेन। ग्रानाडाका जर्मन सान्चेज ‘म्यान अफ दी म्याच’ भए । जितसँगै ग्रानाडा १४औं स्थानमा उक्लिएको छ। ग्रानाडाले ११ खेलबाट ११ नै अंक बनाएको छ। पराजित लिभान्ते रेलिगेसनको दबाबमा छ। १२ खेल सकेको लिभान्तेको ६ अंक छ।
सोमबार रातिनै भएको अर्को खेलमा रायो भालेकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । रायो भालेकानोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।
बराबरीसँगै रायो भालेकानो छैठौं स्थानमा उक्लिएको छ। १२ खेल सकेको रायो भालेकानोको २० अंक छ । ११ अंक बनाएको सेल्टा भिगो १५औं स्थानमा छ। शीर्ष स्थानमा रहेको रियल सोसिडाडको १२ खेलबाट २५ अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिड र सेभिया २४ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।