जाभी हर्नान्डेज स्पेनिस फुटबल क्लब बार्सिलोनाको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् ।
रोनाल्ड कोयम्यानको बर्खास्तीपछि खाली रहेको मुख्य प्रशिक्षकमा बार्सिलोनाका पूर्व खेलाडीसमेत रहेका जाभी नियुक्त भएका हुन्।
क्लबलाई पछिल्लो समय सेर्जी बार्जुआनले अन्तरिम प्रशीक्षकको रूपमा जिम्मेवारी पाएका थिए।
नवनियुक्त प्रशिक्षिक जाभीको आवागमनसँगै स्पेनिस ला लिगामा लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई लयमा फर्काउने क्लबले आशा राखेको छ।
लिगमा ११ खेल खेलेको बार्साले ४ जित, ४ बराबरी र ३ हारसहित १६ अंकसहित नवौं स्थानमा छ। लिगमा १ खेल बढी खेलेको रियल सोसिएडाड २५ अंकसहित शीर्ष स्थानमा छ भने १ खेल कम खेलेर २४ अंक जोडेको रियल म्याड्रिड दोस्रो तथा समान अंक सहित सेभिल्ला तेस्रो स्थानमा छन्।
जाभीले यसअघि १७ वर्ष खेलाडीको रुपमा बार्सिलोनामा बिताएका थिए। सन् २०१५ मा क्लब छाड्नुअघि उनले बार्सिलोनाका लागि ७७९ खेल खेल्दै २५ उपाधि जिताएका थिए।
४१ वर्षीय जाभीले खेलाडीको रुपमा बार्सिलोनालाई आठ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधिका साथै दुई पटक युरोपियन च्याम्पियनसिप जिताएका थिए ।
त्यसपछि उनी कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।
बार्सिलोनाले शनिबार ला लिगा अन्तर्गत सेल्टा भिगोविरूद्ध खेल्दैछ।