इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।
शनिबार बेलुका सम्पन्न खेलमा सिटीले युनाइटेडमाथि उसकै मैदानमा २–० गोल अन्तरले सहज जित निकाल्यो।
पहिलो हाफमा भएका दुई गोल नै सिटीको जितमा पर्याप्त भयो। खेलको सातौं मिनेटमा युनाइटेडका एरिक बाइलीले आत्मघाती गोल उपहार दिएपछि सिटीले खेलमा अग्रता लिएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको घरेलु टोलीले गोल गर्ने केही राम्रो मौका खेर फालेको थियो।
युनाइटेडले गोल गर्ने राम्रा मौका बनाए पनि त्यसलाई सिटीको रक्षा पंतीले विफल बनाइदियो।
जितसँगै सिटी ११ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पराजित युनाइटेड समान ११ खेलबाट १७ अंक जोडंदै पाँचौ स्थानमा छ।
लिगमा ११ खेलबाट २६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ। तेस्रो स्थानमा एक खेल कम खेलेको लिभरपुलले २२ अंक जोडेको छ।