स्पेनिस ला लिगामा बार्सिलोनाले पुनः बराबरी खेल्दै अंक बाँडेको छ।
लिग अन्तर्गत गएराति भएको खेलमा सेल्टा भिगोसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
पहिलो हाफमा ३-० को अग्रता लिएको बार्साले दोस्रो हाफमा लय गुमाउँदा लगातार तीन गोल खान पुग्यो।
खेलको पाँचौं मिनेटमा युवा फरवार्ड अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए। उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए।
खेलको १८ औं मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे। उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए।
खेलको ३४ औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३-० को अग्रता दिलाए। उनले अल्बाको क्रसमा गोल गरेका थिए।
दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। ३ गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै महत्वपूर्ण अंक खोस्न सफल भयो।
इयागो आसपासले खेलको ५२ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए। खेलको ७४ औं मिनेटमा
डिएगो नोलिटोले गोल गर्दै खेललाई ३-२ को स्थितिमा पुर्याए। उनले सर्भिको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए।
इन्जुरी समयको छैठौं मिनेटमा पुनः आसपासले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
यो बराबरीसँगै बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित निकाल्न सकेको छैन। बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा कायमै छ। लिगमा २७ अंक जोडेको रियल म्याड्रिड शीर्ष स्थानमा कायमै छ।