अर्जेन्टिननाले लियोनल मेसीको कप्तानीमा विश्वकप छनोटका लागि टोली घोषणा गरेको छ।
चोट बोकेपछि मैदान बाहिरै रहेका मेसीलाई अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले चोटबाट मुक्त नहुँदै उनकै कप्तानीमा यही साता हुने उरूग्वे र ब्राजिलविरुद्धको खेलका लागि टोली घोषणा गरेका हुन्।
राष्ट्रिय टोलीबाट खेल्न मेसी स्वदेश पुगिसकेका छन्। उपचारका लागि म्याड्रिड आएको बेला उनी स्वदेश पुगेका हुन्।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले देब्रे घुँडामा समस्या देखिएका कारण मेसीलाई पछिल्लो दुई खेल खेलाएको थिएन।
लिग वानअन्तर्गत बोर्डे र च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब आरबी लेइपजिगसँगको खेलमा मेसीलाई आराम दिएको थियो।
यसैबीच क्लवले आगामी केही खेलमा पनि उनलाई आराम दिने योजना बनाइरहेको बेला अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले टोलीमा बोलाएका कारण पिएसजी असन्तुष्ट छ।
मेसीलाई विश्वकप छनोटका खेल खेल्ने टोलीमा समावेश गर्ने अर्जेन्टिनाको निर्णयमा पीएसजीका खेल निर्देशक लियोनार्दोले असन्तुष्टि व्यक्त गरेका हुन्।
जो हाम्रा लागि खेल्न फिट थिएनन् र निको हुने प्रक्रियामा थिए। उनले कसरी राष्ट्रिय टोलीबाट खेल्न सक्छन् भन्दै खेल निर्देशक लियोनार्दोले आफ्नो खेलाडी पूर्ण फिट नभएको जिकिर गरे।
अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ उरुग्वे र ब्राजिलसँग खेल्ने तालिका छ। उसले नोभेम्बर १३ मा उरूग्वे र नोभेम्बर १७ मा ब्राजिलसँग खेल्ने छ।
अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। उरुग्वे तेस्रो स्थानमा छ, उसको १२ खेलबाट १७ अंक छ।