आफ्नै सहकर्मीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनकी मिडफिल्डर अमिनाटा डियालो पक्राउ परेकी छन्।
आफ्नै सहकर्मीमाथि कुटपिटमा संलग्न रहेकोबारे सोधपुछका लागि प्रहरीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो।
गत साता डियालोसँग कारमा यात्रा गर्ने क्रममा नकाबधारी समूहले पिएसजीकै मिडफिल्डर तथा फ्रान्सेली राष्ट्रिय टोलीकी खेइरा हमारावीलाई आक्रमण गरेको थियो।
आक्रमणकारीले सवारी चलाइरहेकी डियालोलाई नियन्त्रणमा लिएको थियो भने हमारावीलाई खुट्टामा फलामको डन्डीले कुटपिट गरि घाइते बनाएका थिए।
यसैबीच पिएसजीले एक विज्ञप्ति निकाल्दै प्रहरीले अनुसन्धानका लागि डियालोलाई नियन्त्रणमा लिएको बताएको छ। यद्यपी घटनाबारे केही खुलाएको छैन।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डियालोले क्लब र राष्ट्रिय टोलीमा नै आफ्नो स्थानमा खेल्ने खेलाडीलाई षड्यन्त्र रच्दै आक्रमण गर्न लगाएर घाइते बनाएको आरोप लगाएको छ।
हमारावी यसै सिजन बार्सिलोनाबाट पिएसजीमा आएकी थिइन्। गत बिहीबारको आक्रमणले उनको खुट्टामा चोट लागेको छ। तर चोट गम्भीर भने छैन। डियालोले भने यसै सिजन एटलेटिको म्याड्रिडबाट लोनमा फर्केपछि खेल्ने अवसर पाएकी थिइनन्।