पोर्चुगलले विश्वकप फुटबलको युरोपेली छनोटमा आयरल्याण्डसँग बराबरी खेलेको छ।
बिहीबार राति घरेलु टोली आयरल्याण्डसँग १० खेलाडीमा समेटिएको पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
पोर्चुगलका डिफेन्डर पेपे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्चुगलले अन्तिम १० मिनेट १० खेलाडीमा सिमित थियो ।
यसअघिनै विश्वकप यात्रा टुंगिसकेको आयरल्याण्डले समूह ए को शीर्ष स्थानमा रहेको पोर्चुगललाई बराबरीमा रोकेको हो। अविवा रंगशालामा करिब ५० हजार घरेलु दर्शकमाझ आयरल्याण्डले पोर्चुगललाई निराश पारेको हो।
यसअघि पहिलो खेलमा पोर्चुगलले आयरल्याण्डलाई २–१ ले हराएको थियो ।
पोर्चुगलले अब आईतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ।
समूह एमा शीर्ष स्थानको पोर्चुगलको १७ अंक छ । दोस्रो स्थानको सर्बियाको समेत समान १७ अंक छ । आयरल्याण्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ ।