विश्वकप छनोटमा जर्मनीले प्रभावशाली जित दर्ता गरेको छ।
बिहीबार राति कोभिडबाट प्रभावित जर्मनीले विश्वकप छनोटको युरोपेली छनोटमा लिचेस्टाइनमाथि ९–० को प्रभावशाली जित दर्ता गर्यो।
जर्मनीको जितमा लिरोए साने र थोमस मुलरले समान दुई-दुई गोल गरे। इल्केए गुन्डोगान, माको रिउस र रिड्ले बाकुले थप एक-एक गोल गरेका थिए। यस्तै दुई गोल उपहार पाएको थियो।
जर्मनीले पहिलो हाफमा चा गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गरेको थियो।
जर्मनीको भोक्सवागन एरिना वल्फ्सवर्गमा बिहीबार राति खेलको नवौं मिनेटमै लिचेस्टाइन १० खेलाडीमा समेटिएको थियो।
जेन्स होफेर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछि प्रत्यक्ष फाइदा जर्मनीले लियो। त्यसमै प्राप्त पेनाल्टीमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीलाई सुरूवाती अग्रता दिलाएका थिए।
पाहुना टोलीका लागि बिहीबारको रात निराशाजनक रह्यो । लिचेस्टाइनले तीन मिनेटको अन्तरमा तीन गोल खाएको थियो।
खेलको २०औं मिनेटमा ड्यानियल कोउफमानले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लियो। २२औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको अग्रता तेब्बर पारे। त्यसको एक मिनेटपछि मार्को रिउसले गोल गरेपछि जर्मनीले पहिलो हाफमा नै ४–० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा थप कमजोर देखिएको पाहुना टोलीमाथि जर्मनीले निरन्तर गोल गर्दै गयो। खेलको ४९औं मिनेटमा लिरोए सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ७६औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ६–० ले अघि बढाए ।
८०औं मिनेटमा रिड्ले बाकुले गोल गरे। ८६औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गरे। जर्मनी यतिमा मात्रै रोकिएन। ८९औं मिनेटमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल उपहार दिएपछि जर्मनीले खेलमा ९–० को प्रभावशाली जित निकाल्यो।
यो जितपछि समूह ‘जे’ मा शीर्षस्थानमा रहेको जर्मनीको ९ खेलबाट २४ अंक भएको छ। पराजित लिचेस्टाइनले समूहका १ अंक जोडेर पुछारमा छ।
समूहको दोस्रो स्थानमा नर्थ म्यासेडोनिया छ। उसले ९ खेलबाट ४ जित र ३ बराबरीसहित १५ अंक जोडेको छ।
हान्सी फ्लिकले जर्मनीको प्रशिक्षकको रूपमा गए राति इतिहास कायम गर्दै लगातार छैठौं खेलमा जित हात पारेका हुन्।
जोचिम लेउलाई प्रतिस्थापन गर्दै जर्मनीको टिम सम्हालेका फ्लिकले सुरुवाती ६ खेलमा जित दर्ता गरेर इतिहास बनाएका हुन्।
कोभिड प्रभावित टोलीमा फ्लिकले ब्यापक परिवर्तन गरेका थिए। फ्लिकले नियमित ५ खेलाडीलाई टिम बाहिर राखेर नयाँ टिम बनाएका थिए। डिफेन्डर निकलास सुले कोभिडबाट संक्रमित भएपछि उनले यस्तो परिवर्तन गरेका हन्।