ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले फिफा विश्वकपको युरोपियन छनोटमा सानदार जित निकालेको छ।
वेम्वली स्टेडियममा गएराति भएको खेलमा इंग्ल्यान्डले अल्वानियामाथि ५–० को फराकिलो जित निकालेको हो। इङ्ल्याण्डको जितमा केनबाहेक ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि गोल गरेका थिए।
यो जितसँगै इङ्ल्याण्डले कतार विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ।
घरेलु टोलीले पहिलो हाफमै सबै ५ गोल गरेको थियो। खेलको नवौं मिनेटमा ह्यारी मगाएरले गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। उनले रिस जेम्सको पासमा गोल गरेका थिए । १८औं मिनेटमा ह्यारी केनले जोर्डन हेन्डरसनको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे।
२८औं मिनेटमा केनको पासमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा ३–० ले अघि बढाए। ३३औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। उनले रहिम स्टर्लिङको पासमा सानदार गोल गरेका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा केनले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। उनले फिल फोडेनको पासमा गोल गर्दै टोलीलाई पहिलो हाफमै ५-० को सानदार अग्रता दिलाएका थिए।
दोस्रो हाफमा पाहुना टोलीले सुधारिइएको प्रदर्शन गर्दा इङ्ल्याण्डले थप गोल गर्न सकेन।
इंग्ल्यान्डले छनोटको अन्तिम खेलमा सान मारिनोसँग सोमबार राति खेल्दैछ।
गए रातिनै भएको समूहको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको घरेलु टोली एन्डोरालाई ४–१ ले हरायो।
पोल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन छनोटका अन्तिम खेलमा हंगेरीलाई हराउनु पर्नेछ। त्यति मात्र होइन, अर्को खेलमा शीर्षस्थानको इंग्ल्यान्डले सान मारिनोसँग हार बेहोर्नुपर्ने हुन्छ।
समूहको अर्को खेलमा हंगेरीले सान मारिनोलाई ४–० ले हराएको छ।
यो नतिजापछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित अल्वानिया १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पोल्याण्ड २० अंकसहित दोस्रो स्थानमा छ। यस्तै चौथो स्थानको हंगेरीको १४ अंक छ। एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । सान मारिनो अंकविहीन हुँदै पुछारमा छ।