इस्टोनियालाई हराउँदै बेल्जियम कतार विश्वकपमा छनोट हुने पाँचौ टोली बनेको छ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत गएराति घरेलु मैदान ब्रसेल्समा इस्टोनियालाई ३–१ ले हराउँदै बेल्जियम एक खेल अगावै छानिएको हो।
यसअघि जर्मनी, डेनमार्क, ब्राजिल र फ्रान्सले विश्वकपमा स्थान बनाइसकेका छन्। आयोजक कतार पनि सोझै छनोट भइसकेको छ।
घरेलु टोलीलाई जिताउन क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गान हाजार्डले गोल गरे। इस्टोनियाका लागि इरिक सोरगाले एक गोल फर्काए।
खेलको ११ औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० को अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप २ गोल गर्यो।
खेलको ५३ औं मिनेटमा यान्निकले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । खेलको ७०औं मिनेटमा इरिक सोरगाले गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर त्यसको चार मिनेटपछि थोर्गान हाजार्डले गोल गर्दै बेल्जियमको जित पक्का गरे।
यो जितसँगै समूह ई मा अपराजित बेल्जियमको ७ खेलबाट १९ अंक भएको छ। पराजित इस्टोनिया ४ अंक जोडेर चौथो स्थानमा छ।
गएराति नै भएको समूहको अर्को खेलमा बेलारूसलाई ५–१ को अन्तरले हराउँदै वेल्सले विश्वकपमा छनोट हुने सम्भावना जिवितै राखेको छ।
यो जितपछि वेल्सको ७ खेलबाट १४ अंक पुगेको छ । बेलारुस ३ अंक जोडेर पुछारमा छ । चेक रिपब्लिकको ११ अंक छ।
छनोटको अन्तिम खेलमा वेल्सले बेल्जियमसँग खेल्दैछ। जित र बराबरीको नतिजाले वेल्स प्ले अफमा पुग्नेछ। पराजित भए चेक रिपब्लिकले आफ्नो खेलमा जित निकालेको अवस्थामा गोल अन्तर र हेड टु हेडमा भर पर्नेछ।