कतार विश्वकपमा छनोट भइसकेको जर्मनीले युरोपेली छनोटको अन्तिम खेलमा अर्मेनियामाथि सानदार जित निकालेको छ।
यारेभान अर्मेनियामा गएराति जर्मनीले अर्मेनियालाई ४–१ को फराकिलो जित निकाल्दै छनोट सकेको छ। जर्मनीको जितमा इल्केए गुन्डोगानले दुई तथा काई हाभर्टज र जोनस होफमानले समान एक गोल गरे। अर्मेनियाका हेनरिक मिखटरयानले सान्तवना गोल फर्काए।
जर्मनीले खेलको १५औं मिनेटमा काई हाभर्टजको गोलबाट सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा इल्केए गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीको पहिलो हाफमा २-० को अग्रता दिलाए।
पहिलो हाफमा २-० ले अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप २ गोल गर्यो।
खेलको ५०औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई ३–० ले अघि बढाए। खेलको ५९औं मिनेटमा घरेलु टोलीका लागि हेनरिक मिखटरयानले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए।
तर त्यसको ५ मिनेटपछि जोनस होफमानले गोल गर्दै टोलीको जित पक्का गरे। यो जितपछि समूह ‘जे’ मा जर्मनीले १० खेलबाट २७ अंक जोड्यो।
यस्तै गएराति नै भएको अर्को खेलमा नर्थ म्यासेडोनियाले आइसल्यान्डमाथि ३–१ को जित निकाल्दै विश्वकप छनोटको प्ले अफमा स्थान बनायो।
नर्थ म्यासेडोनियाले १० खेलबाट १८ अंक जोड्यो । रोमानियाले १७ अंक जोड्यो। आइसल्यान्डले ९ तथा लिचेस्टाइन १ अंक जोडेर पुछारमा रह्यो।