फ्रान्सले फिनल्याण्डमाथि सहज जित निकालेको छ ।
फिफा विश्वकपमा युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले हराएको हो।
यसअघि नै कतारमा आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भइसकेको फ्रान्सको जितमा करिम बेन्जिमा र केलियन एम्बाप्पेले एक-एक गोल गरे ।
पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को सहज जित दिलाए ।
यो हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना टुंगिएको छ।
समूह 'डी' मा रहेको फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो। शीर्ष स्थानमा रहेको फ्रान्स अपराजित रहँदै १८ अंक जोडेको छ।
यस्तै दोस्रो स्थानमा उक्लिएको युक्रेन अपराजित रहँदै १२ अंक जोडेर प्लेअफमा छनोट भएको छ। युक्रेनले बोस्निया हर्जगोभिनियालाई २-० ले हराउँदै प्ले अफमा स्थान पक्का गरेको हो।