फिफा विश्वकप छनोट खेलका कारण दुई साता रोकिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरू शुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ। शुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ।
रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ। पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ। बिल्बाओ अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको बिल्बाओले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ।
रेलिगेसनको मारमा रहेको लिभान्ते ६ अंक सहित १९औं स्थानमा छ। एउटै खेल जित्न नसकेको लिभान्तेले १३ खेलमा ६ बराबरी र सात हार खेपेको छ। ला लिगाको उपाधि भिडन्त भने यसपटक पनि रोचक हुने देखिएको छ ।
अहिले लिगको शीर्षस्थानमा रहेको रियल सोसिडाडले १३ खेलबाट २८ अंक बनाएको छ। सोसिडाडलाई पछ्याएको रियल म्याड्रिड र सेभियाले समान २७ अंक बनाएका छन्। रियल र सेभियाले एक खेल कम खेलेका छन्। २३ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ।
यसैगरी २१ अंक बनाएको रियल बेटिस पाँचौं, २० अंक बनाएको रायो भालेकानो छैटौं, १९ अंक बनाएको ओसासुना सातौं स्थानमा छ । समान १७ अंक बनाएको बार्सिलोना भ्यालेन्सिया र स्पान्योल शीर्ष १०मा अटाएका छन्।
जाभीको आगमनसँगै उत्साहित बार्सिलोना
स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना खराब नतिजाबाट गुज्रिएको छ। हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ।
टोलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलोनाले तीन साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ। सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोना उत्साहित बनेको छ ।
४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा सेल्भा भिगोसँग ३–३ गोलको बराबरीमा चित्त बुझाएको थियो। उक्त खेलमा बार्सिलोना पहिलो हाफमै तीन गोलको अग्रता लिएर पनि अंक बाँड्न बाध्य बनेको थियो ।
सेल्टा भिगोसँगको खेलपछि कडा रुपमा प्रस्तुत भएका जाभीले टिम सुधारका लागि नयाँ योजना बनाएका छन् । जाभीले खेलाडीलाई खेलाडीको शैलीमा प्रस्तुत हुन आग्रह समेत गरेका छन्।
जाभीले भनेका छन, ‘सेल्टा भिगोसँग जे भयो, त्यो ठीक भएन। पहिलो हाफमा तीन गोलले अगाडि रहेर पनि खेल बराबरीमा टुंगिन्छ भने त्यो पक्कै राम्रो होइन।’ जाभीले आफ्ना खेलाडीलाई बार्सिलोनासँग आवद्ध हुन पाएकोमा गर्व गर्न अनुरोध समेत गरेका छन् ।
१७ वर्ष खेलाडीको रूपमा बार्सिलोनामा विताएका जाभीले आठ पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए। उनी पछिल्लो समय कतारी क्लब अल सादमा आबद्ध भएका थिए। जाभीले सन् २०१० मा स्पेनलाई विश्वकप उपाधि जिताउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिपसमेत जिताएका थिए।
जाभीको प्रशिक्षणमा उत्साहित देखिएको बार्सिलोना अबका खेलमा सुखद नतिजा निकाल्ने तयारीमा जुटेको छ । खेलाडीलाई कडा अभ्यास गराई रहेका जाभी आगामी खेलमा लगातार जित निकाल्ने योजनामा छन्। बार्सिलोनाले भर्खर ब्राजिलियन रक्षक ड्यानी आल्भेसलाई क्लबमा अनुबन्ध पनि गरेको छ।
बार्सिलोना अहिले १७ अंक सहित लिग तालिकाको नवौं स्थानमा छ। १२ खेल सकेको बार्सिलोनाले चार जित, पाँच बराबरी र तीन हार खेपेको छ। ला लिगाको आफ्नो १३औं खेलमा बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा स्पान्योलसँग प्रतिस्पर्धा गर्दैछ।