स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओ रेलिगेसनको दबाबमा रहेको लिभान्तेसँग बराबरीमा रोकिएको छ। लिभान्तेको घरेलु मैदानमा सुक्रबार राति गोलरहित बराबरी खेल्दै बिल्बाओले अंक बाँडेको हो।
प्रतिस्पर्धात्मक खेलमा लिभान्तेले ४९ प्रतिशत बल पोसेसन राख्दै १५ वटा पोस्ट प्रहार गरेको थियो। घरेलु मैदानमा पहिलो जित निकाल्ने लिभान्तेको योजनामा विल्बाओको रक्षापंक्ति बाधक बन्यो। लिभान्ते जारी लिगमा एउटै खेल नजितेको एक्लो टोली हो। यता ५१ प्रतिशत बल पोसेसन राखेको पाहुना टोली बिल्बाओले पनि गोल गर्न सकेन। बिल्बाओले सात वटा पोस्ट प्रहार गरेको थियो।
यस खेलसँगै लिभान्ते र बिल्बाओ जारी लिगमा सर्बाधिक बराबरी खेल्ने टोली पनि बनेका छन्। दुवै टोली सात खेलमा बराबरीमा रोकिएका छन्। लिभान्तेका रक्षक कार्लोस क्लर्क ‘म्यान अफ दी म्याच’ भए ।
बराबरीसँगै १९ अंक बनाएको बिल्बाओ तालिकाको सातौं स्थानमा छ। १३ खेल सकेको बिल्बाओले चार जित, सात बराबर र दुई हार खेपेको छ। १४ खेलबाट सात अंक बनाएको लिभान्ते रेलिगेसनको दबाबमा छ। १९औं स्थानमा रहेको लिभान्तेले सात बराबरी र सात वटै हार खेपेको छ ।
लिगको शीर्षस्थानमा रहेको रियल सोसिडाडले १३ खेलबाट २८ अंक बनाएको छ। सोसिडाडलाई पछ्याएको रियल म्याड्रिड र सेभियाले समान २७ अंक बनाएका छन्। रियल र सेभियाले एक खेल कम खेलेका छन। २३ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ।