ग्रानडामाथि सानदार जित निकालेको रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा पुनः उक्लिएको छ। १० खेलाडीमा समेटिएको ग्रानडालाई गएराति ४–१ को फराकिलो अन्तरले हराउँदै रियल शीर्षस्थानमा फर्किएको हो।
रियलको जितमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गरे। घरेलु टोलीकाका लागि लुइस सुआरेजले एक गोल फर्काए।
खेलको १९ औं मिनेटमा मार्को एसेन्सियाले गोल गर्दै रियलले ग्रानडामा सुरूवाती अग्रता लिएको थियो। २५ औं मिनेटमा नाँचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
३४औं मिनेटमा घरेलु टोलीका लागि लुइस सुआरेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। पहिलो हाफसम्म २-१ ले पछि परेको ग्राना दोस्रो हाफमा १० खेलाडीमा समेटियो।
खेलको ६७ औं मिनेटमा भिनिसियसमाथि फउल गरेपछि रेफ्रीले मोन्चुलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
त्यसमै असन्तुष्टि जनाएपछि रेफ्रीले प्रशिक्षक रोबर्ट मोरेनोलाई पनि रातो कार्ड देखाउँदै टच लाइन बाहिर पठाएपछि खेल केही बेर तनावग्रस्त बनेको थियो।
ग्रानडा १० खेलाडीमा मसेटिनु अघि ५६औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ३-१ अग्रता दिलाइसकेका थिए।
१० खेलाडी भएको ग्रानडा खेलमा फर्कन सकेन। ७६ औं मिनेटमा फर्लान्ड मेन्डीले गोल गर्दै रियल म्याड्रिडको फराकिलो जित पक्का गरे।
जितपछि शीर्षस्थानमा उक्लिएको रियलको १३ खेलबाट ३० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ अंक छ भने तेस्रो स्थानमा झरेको सेभियाको १३ खेलबाट २८ अंक छ। सोसिडाडले एक खेला बढी खेलेको छ।
रियलसँग पराजित ग्रानडा ११ अंक जोडेर १८औं स्थानमा छ।