एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने क्रममा सिटीले घरेलु मैदानमा एभर्टनलाई ३–० ले सानदार जित निकालेको हो।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन रहिम स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले गोल गरे।
सिटीले खेलको ४४ औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट सुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अगा८ रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल थप्यो।
खेलको ५५औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ८६औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको जित पक्का गरेका थिए।
यो सँगै सिटीले शीर्ष स्थानमा रहेको चेल्सीसँगको अंक दुरी छोट्याएको छ।
जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको १२ खेलबाट २६ अंक पुगेको छ। सिटी शीर्षस्थानको चेल्सीभन्दा ३ अंकले पछि छ। तेस्रो स्थानको लिभरपुलको २५ अंक छ। पराजित एभर्टन १५ अंक जोडेर ११औं स्थानमा रहेको छ।