इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानको नेपोलीलाई हराएको छ। घरेलु मैदानमा इन्टरले नेपोलीमाथि ३–२ को उत्कृष्ट जित निकालेको हो।
इन्टर मिलानको जितमा हकान चलहानोग्लु, इभान पेरिसिस र लोउटारो मार्टिनेजले गोल गरे। नेपोलीका पिओटर जिलेन्स्की र ड्रिएस मेर्टिन्सले गोल गरेका थिए।
मिलानोमा आइतबार राति भएको खेलको १७औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै नेपोलीलाई सुरूआती अग्रता दिलाएका थिए ।
खेलको २५औं मिनेटमा घरेलु टोलीका लागि हकान चलहानोग्लुलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
कालिडोउ कोउलीवेलीले पेनाल्टी बक्समा निकोला बरेल्लालाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा पेनाल्टी दिएका थिए।
खेलको ४४औं मिनेटमा इभान पेरिसिसले गोल गर्दै इन्टर मिलानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए। खेलको ६१औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे।
खेलको ७९औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर मिलानले खेल ३-२ ले जित्यो।
यो जितसँगै इन्टर मिलानले १३ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ। उसले शीर्ष स्थानमा रहेका नेपोली र एसि मिलानसँगको अंक दुरीसमेत छोट्याएको छ।
समान ३२ अंकसहित नेपोली र मिलान दुबै शीर्ष दुईमा छन्। गोल अन्तरका आधारमा शीर्ष स्थानमा कायमै रहेको नेपोलीले आजको हारसँगै शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउने मौका गुमाएको छ।