रायो भालेकानोले स्पेनिस ला लिगामा सहज जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा रायो भालेकानोले मालोर्कालाई ३–१ गोलले हरायो।
रायो भालेकानोको जितमा सर्जियो ग्वार्डिओला, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरेका थिए। मालोर्काका एब्डोन प्रार्टसले सान्त्वना गोल फर्काए। पहिलो हाफमा दुई गोल गरेको रायो भालेकानोले १६औं मिनेटमा खाता खोलेको थियो।
सर्जियोले शान्ति कोमेसानाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। २०औं मिनेटमा अल्भारोले ओस्कार ट्रेजोको पासमा गोल गर्दै रायो भालेकानोको अग्रता दोब्बर बनाए। त्यसपछि ६३औं मिनेटमा ओस्कार ट्रेजोले पेनाल्टीमा गोल गर्दै रायो भालेकानोलाई फराकिलो जिततर्फ अगाडि बढाए।
डिबक्सभित्र मालोर्काका मार्टिन भल्जेन्टले फल खेले पनि रायो भालेकानोले पेनाल्टीको अवसर पाएको थियो। मालोर्काले खेलको अन्तिममा गोल फर्काएको थियो। एब्डोन प्रार्टसले ८९औं मिनेटमा एन्जल रोड्रिग्वेजको पासमा गोल गरेपनि टोलीको हार जोगिएन।
बल पोसेसन औसत राखेको मालोर्काले पहिलो हाफमा राम्रा अवसर गुमाउँदा फराकिलो हार खेप्न बाध्य भयो। ४८ प्रतिशत बल पोसेसन राखेको मालोर्काले ११ वटा पोस्ट प्रहार गरेको थियो। ५२ प्रतिशत बल पोसेसन राखेको रायो भालेकानोले १५ वटा पोस्ट प्रहार गरेको थियो । रायो भालेकानोका ओस्कार ट्रेजो ‘म्यान अफ दी म्याच’ भए।
जितसँगै १४ खेलबाट २३ अंक बनाएको रायो भालेकानो छैठौं स्थानमा उक्लिएको छ। १५ अंक बनाएको मालोर्का १३औं स्थानमा छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ।