युइएफए च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडलाई हराउँदै इटालियन क्लब एसी मिलानले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ।
जित्नै पर्ने खेलमा मिलानले एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा १–० ले हराएको हो।
एट्लेटिकोमाथिको महत्वपुर्ण जितसँगै मिलानले समूहमा दोस्रो भएर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ।
मिलानसँगको हारसँगै एट्लेटिको म्याड्रिडले भने च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न समूह चरणको अन्तिम खेल नै कुर्नुपर्ने भएको छ ।
बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको अन्तिम ३ मिनेट बाँकी रहँदा एसी मिलानले गोल गर्दै महत्वपूर्ण जित हात पार्यो।
मिलानको जितमा वैकल्पिक खेलाडी जुनियर मेसिएसले खेलको ८७औं मिनेटमा निर्णायक गोल गरे।
जितपछि मिलान ५ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। पराजित एट्लेटिकोको पनि ४ अंक नै रहे पनि गोल अन्तरमा चौथोमा छ।
समूहमा पोर्टो ५ अंकसहित दोस्रो स्थानमा छ।
अब समूह चरणको अन्तिम राउन्डमा एसी मिलानले लिभरपुलसँग तथा एट्लेटिकोले पोर्टोसँग खेल्दैछ।
यो नतिजापछि नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ। पोर्टो, एट्लेटिको म्याड्रिड र एसी मिलानको अघिल्लो चरण पुग्ने समिकरण छ। लिभरपुलले लगातार पाँचौ जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाइसकेको छ ।