इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानको नापोलीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। आइतबार राति घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा सासोउलोसँग ३-१ गोल अन्तरले स्तब्ध भएको हो।
खेलको २१ औं मिनेटमा एल्सियो रोमागनोलीले गोल गर्दै मिलानलाई सुरूआती अग्रता दिलाएका थिए।
तर त्यसको ३ मिनेटपछि जियानलुका स्कामाकाले गोल गर्दै सासोउलोलाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ३३ औं मिनेटमा मिलानका सिमोनले आत्मघाती गोल उपहार दिएपछि सासोउलोले पहिलो हाफमा २-१ को अग्रता बनायो।
घरेलु टोलीमाथि पकड जमाएको सासोउलोले त्यसपछि खेलको ६६ औं मिनेटमा डोमिनिको बेरार्डीले गोल गरे।
यस्तै खेलको ७७ औं मिनेटमा एल्सियो रोमागनोलीले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।
यद्यपी यसको प्रत्यक्ष फाइदा लिन पाहुना टोलीले सकेन। खेल ३-१ मै सकियो।
यस हारसँगै मिलानले १४ खेलमा ३२ अंक जोड्दै दोस्रो स्थानमा कायमै छ। यस्तै गए रातिनै भएको अर्को खेलमा नापोलीले लाजिओलाई ४-० गोल अन्तरमा हराउँदै ३५ अंकसहित शीर्ष स्थानमा कायमै छ।
सासोउलो १८ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ।