कतारमा जारी फिफा अरब कपको उद्घाटन खेलमा आयोजक कतारले विजयी सुरूआत गरेको छ।
मंगलबार राति भएको उद्घाटन खेलमा बहराइनलाई १-० ले हराउँदै कतारले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
अल बायत स्टेडियम अल्खोरमा भएको प्रतिस्पर्धात्मक खेलमा कतारका लागि हातेमले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा हातेमले गोल गरेका हुन्। यो जितसँगै कतारले महत्त्वपूर्ण ३ अंक जोड्न सफल भएको छ ।
यस्तै मंगलबार नै भएका अन्य खेलमा युएईले सिरियालाई २–१, ट्युनिसियाले मोरिटानियालाई ५–१ गोल अन्तरले हराएको छ। इराक र ओमानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
फिफाको सुपरिवेक्षणमा पहिलोपटक आयोजना भइरहेको प्रतियोगितामा कतार, साउदी अरेबिया, ओमान, इराक, बहराइन, युएई, सिरिया, जोर्डन, प्यालेस्टाइन, लेबनान, इजिप्ट, ट्युनिसिया, अल्जेरिया, मोरक्को, मौरिटानिया र सुडानसहित १६ टिमले खेलिरहेका छन्।