इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई उसकै मैदानमा हराएको छ।
भिल्ला पार्कमा बुधबार राति भएको खेलमा सिटीले घरेलु टोलीलाई २–१ ले हराएको हो।
सिटीको जितमा रूवेन डियास र बर्नार्डो सिल्भाले गोल गर्दा घरेलु टोलीका ओले वाट्किन्सले एक गोल फर्काए।
खेलको २७औं मिनेटमा रुवेन डियासले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाए। उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए।
खेलको ४३औं मिनेटमा बर्नार्डो सिल्भाले गाब्रियल जेससको पासमा गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर पारे।
दोस्रो हाफको सुरूमै ओले वाट्किन्सले डुगलस लुइजको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। तर त्यसपछि थप गोल निस्कन नसक्दा सिटीसँग घरेलु मैदानमा भिल्ला पराजित भयो।
जितसँगै सिटीले शीर्षस्थानको चेल्सीमाथि दवाव बढाउँदै अंक दुरी १ मै कायम राखेको छ। सिटीको १४ खेलबाट ३२ अंक छ ।
शीर्षस्थानको चेल्सीको ३३ अंक छ। पराजित भिल्ला १६ अंक जोडेर १३औं स्थानमा रहेको छ। यस्तै तेस्रो स्थानको लिभरपुलको ३१ अंक छ।