इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले आठौं जित निकालेको छ। युभेन्ट्सले गए राति घरेलु मैदानमा जिनोआलाई २–० ले हराउँदै लिगको १६ औं खेलमा आठौं जित निकालेको हो।
घरेलु मैदानमा युभेन्टसलाई जिताउन जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे।
एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको नवौं मिनेटमा कोर्डाडोको गोलमा युभेन्ट्सले सुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अगाडि रहेको युभेन्टस दोस्रो हाफमा थप १ गोल गर्दै सहज जित निकाल्न सफल भयो।
बल पोसेसनमा बलियो पकड राखेपनि युभेन्ट्सले दोस्रो गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो। खेलको ८२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सको जित पक्का गरेका थिए।
यो जितसँगै युभेन्ट्स १६ खेलबाट ८ जित, ३ बराबरीसहित २७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।
समान २७ अंक नै रहे पनि फियारेन्टिना गोल अन्तरमा पछि परेको हो। पराजित जिनोआ १० अंक जोडेर १८औं स्थानमा रहेको छ।
तालिकाको शीर्ष स्थानमा रहेको एसि मिलानले समान खेलबाट ३८ अंक जोडेको छ। दोस्रो स्थानको इन्टरको ३७ र तेस्रो स्थानको नापोलीको ३६ अंक छ।