एभर्टनले आर्सनललाई हराउँदै इंग्लिस प्रिमियर लिगमा पाँचौ जित निकालेको छ। घरेलु मैदानमा एभर्टनले बलियो टोली आर्सनलमाथि २–१ को पूनरागमन जित निकालेको हो ।
गुडिसन पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे। आर्सनलका मार्टिन ओडेगार्डको गोल सान्त्वना बन्यो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनलले सुरूआती अग्रता लिएको थियो।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। उनले काइरनको पासमा गोल गरेका थिए ।
पहिलो हाफमा १-० ले पछि रहेको घरेलु टोलीले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित पक्का गरेको हो।
खेलको ७९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। डेमाराई ग्रेको प्रहार क्रसबारमा लागेर फर्कदा रिचार्लीसनले रिवाउन्डमा हेडरमार्फत उत्कृष्ट गोल गर्न सफल भएका थिए।
इन्ज्युरी समयमा डेमाराई ग्रेले गोल गर्दै गर्दै एभर्टनलाई पूनरागमन जित दिलाए। आन्द्रे गोमेजको पासमा इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै एभर्टनलाई महत्वपूर्ण तीन अंक दिलाए।
यो जितसँगै एभर्टन १५ खेलबाट ५ जितसहित १८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ।
उता खेलमा ६४ प्रतिशत बल पोजिशन राखेपनि गोल गर्न नसक्दा पराजित आर्सनलले पाँचौ स्थानमा उक्लिने मौका गुमायो। समान खेलबाट २३ अंक जोडेर सातौं स्थानमा झरेको छ।