स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओले रेलिगेसनको दबाबमा रहेको गेटाफेसँग अंक बाँडेको छ। सोमबार राति भएको खेलमा बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडका हुन्।
गेटाफेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए। ५५ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले घरेलु टोली गेटाफेको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो। जारी लिगमा बिल्बाओको यो नवौं बराबरी हो। बिल्बाओ सर्वाधिक बराबरी खेल्ने टोली समेत बनेको छ।
बिल्बाओपछि भ्यालेन्सिया, मालोर्का र भिल्लारियलले सात सात बराबरी खेलेका छन्। यता ४५ प्रतिशत बल पोसेसन राख्दै १७ वटा पोस्ट प्रहार गरेको घरेलु टोलीको जित निकाल्ने योजना पनि सफल भएन।
लिगमा गेटाफेको यो पाचौं बराबरी हो। रेफ्रीविरुद्ध लगातार खनिएका गेटाफेका प्रशिक्षक क्वीक सान्चेज फ्लोरेसले खेलको अन्तिममा रातो कार्ड पाएका थिए। बिल्बाओका उनई सिमनो ‘म्यान अफ दी म्याच’ भए।
बराबरीसँगै १६ खेलबाट २१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ। गेटाफे रेलिगेसनको तिब्र दबाबमा छ। ११ अंक बनाएको गेटाफे १९औं स्थानमा छ।
अन्तिम तथा २०औं स्थानमा रहेको लिभान्तेको आठ अंक छ। शीर्षस्थानमा रहेको रियल रियल म्याड्रिडको ३९ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ।