च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले हार ब्यहोरेको छ । नकआउट चरणमा स्थान पक्का गरिसकेको सिटीले जर्मन क्लब आरबी लाइप्जिङसँग उसकै मैदानमा २–१ ले स्तब्ध भएको हो।
लाइप्जिङको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले १-१ गोल गरे। सिटीका रियाद महारेजले सान्तवना गोल फर्काए।
रेडबुल एरिना लाइप्जिङमा गएराति भएको खेलको २४औं मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
४४ प्रतिशत बल पोजिशन राखेको घरेलु टोलीले खेलको ७१औं मिनेटमा आन्द्रे सिल्भाले गोलबाट अग्रता दोब्बर पार्यो।
७६औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए। तर, ८२औं मिनेटमा केल वाल्कर सोझै रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा समेटियो र त्यसपछि खेलमा फर्कन सकेन।
खेलमा सिटीका १३ वटा प्रहार विफल हुँदा घरेलु टोलीले पाहुना टोलीमाथि २-१ को महत्वपूर्ण जित निकाल्यो।
यो हारको बावजुत सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा कायमै रह्यो। सिटीलाई हराएको लाइप्जिङ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गर्यो।
यसअघि गएरातिनै भएको यहीँ समूहको अर्को खेलमा पिएसजीले क्लब ब्रुगमाथि ४–१ को सानदार जित निकाल्यो। जितपछि पिएसजी ११ अंक जोडेर दोस्रो स्थानमा यथावत रह्यो। क्लब ब्रुग ४ अंक जोडेर पुछारमा रह्यो।