इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा हराउँदै स्पेनिस क्लब भिल्लारियल युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
समूह ‘एफ’ को उपविजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गर्न दुवै टोलीलाई जित आवश्यक रहँदा भिल्लाले एटलान्टामाथि ३–२ को सानदार जित निकालेको हो।
भिल्लाको जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे। घरेलु टोलीका रूस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरेका थिए।
जिविस स्टेडियम बरगामोमा गएराति भिल्लारियलले खेलको तेस्रो मिनेटमै सुरूआती अग्रता लिएको थियो। डानजुमाले पारेजोको पासमा गोल गरेका थिए।
४२औं मिनेटमा इटिन कापोइले गोल गर्दै भिल्लारियलको अग्रता पहिलो हाफमै दोब्बर पारे ।
५१औं मिनेटमा डानजुमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई सुरूआती ३–० को अग्रता दिलाए। खेलमा ६४ प्रतिशत बल पोजिसन राखेको घरेलु टोली एटलान्टाले त्यसपछि दुई गोल गरे पनि हार टार्न सकेन।
७१ औं मिनेटमा रूस्लान मालिनोभ्स्कीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। ८०औं मिनेटमा इलिकिकको पासमा डुभान जापटाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए पनि त्यसपछि गोल निस्कन नसक्दा घरेलु टोली पराजित हुँदै समूह चरण पार गर्न सकेन।
बुधबार राति नै हुनुपर्ने खेल अत्यधिक हिमपातका कारण खेल हुन नसकेपछि एक दिन पछि सारिएको थियो।
यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। भिल्लाले समूहमा दोस्रो भएर अघिल्लो चरणमा स्थान पक्का गर्यो। यो सँगै च्याम्पियन्स लिगका प्रि–क्वाटरफाइनलको समिकरण पुरा भएको छ।