स्पेनिस ला लिगामा मालोर्का र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मालोर्काको घरेलु मैदानमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाए ।
५२ प्रतिशत बल पोसेसन राखेको सेल्टा भिगोको गोल फर्काउने प्रयासमा मालोर्काको रक्षपंक्ति बाधक बन्यो । खेलभर सेल्भा भिगोले १४ र मालोर्काले १२ वटा पोस्ट् प्रहार गरेको थियो । सेल्टा भिगोका मिडफिल्डर ब्रेस मेन्डेज ‘म्यान अफ दी म्याच’ भए ।
बराबरीसँगै १७ खेलबाट २० अंक बनाएको मालोर्का १२औं स्थानमा छ । समान खेलबाट १७ अंक बनाएको सेल्टा भिगो १३औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १६ खेलबाट ३९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ ।
यसैबीच स्पेनिस ला लिगामा नोभेम्बर महिनाको ‘प्लेयर अफ दी मन्थ’ को उपाधि रियल म्याड्रिडका स्ट्राईकर भिनिसियस जुनियरले जितेका छन् । ला लिगाले भिनिसियसलाई उत्कृष्ट प्रदर्शनका आधारमा उक्त उपाधि दिने निर्णय गरेको हो । उनले गत महिना रायो भालेकानो, ग्रानाडा र सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । भिनिसियसले अगस्ट महिनाको ‘प्लेयर अफ दी मन्थ’ को उपाधि पनि जितेका थिए ।
ब्राजीलका २१ बर्षीय भिनिसियसले जारी ला लिगामा १० गोल गर्दै दुई असिस्ट पनि दिएका छन् । उनी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन् । शीर्षस्थानमा रहेका रियलकै कप्तान करिम बेन्जेमाले १२ गोल गरेका छन् ।
भिनिसियसलार्ई यस उपाधि आइतबार हुने म्याड्रिड डर्वीपछि प्रदान गरिनेछ । सिजनको पहिलो म्याड्रिड डर्वी आइतबार राति रियल म्याड्रिडको घरेलु मैदानमा हुनेछ ।