इंग्लिस प्रिमियर लिगको अंक तालिकामा म्यान्चेष्टर सिटीको अग्रता कायमै रहेको छ। शीर्षस्थानमा रहेको सिटीले घरेलु मैदानमा वल्भ्सलाई गए राती १–० गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा कायमै रहेको हो।
सिटीको जितमा फरवार्ड रहिम स्टर्लिङले निर्णायक गोल गरे।
दोस्रो हाफमा रहिमले पेनाल्टीमार्फत गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो। उनले ६६ औं मिनेटमा गोल गरेका थिए।
त्यसअघि इतिहाद स्टेडियममा पाहुना टोली पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो। राहुल जिमिनेज दोहोरो पहेलो कार्ड खाँदै पहिलो हाफमा इन्ज्युरी समयमा बाहिरिएपछि वल्भ्स बाँकी दोस्रो हाफ १० खेलाडीमा समेटियो।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १६ खेलबाट ३८ अंक पुगेको छ । पराजित वल्भ्स २१ अंक जोडेर आठौं स्थानमा छ।